PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सडक निर्माण सुस्त, धुलोधुवाँको प्रदूषण बढेपछि स्थानीय आक्रोशित



पहिलोपोस्ट

इटहरी : दुई वर्षअघि नै निर्माण भइसक्नुपर्ने धरान—चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ। यही प्रदूषणका कारण यति बेला बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन्। 

सरकारले २०७१ सालमा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो। तर समयमा बजेट निकासा नहुनु, सडक विभागका कर्मचारी समयमा सरुवा भएर नआउनु, मधेस आन्दोलन एवम् नाकाबन्दी आदिको कारणले सडक निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका व्यक्तिहरुले बताउँदै आएका छन्। 

चतरादेखि धरानसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि रु ६ करोड ४२ लाख निर्माणको ठेक्का पाएका हजबुल अन्सारी ठेक्का लिएपछि भएको असहज परिस्थितिकै कारणले सडक निर्माणमा ढिलाइ भएको बताउँछन्। धरान—चतराको सडकमा पर्ने पटनाली, बगुवा, सर्दु खोला लगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताए।

धरानदेखि चतरासम्मको १७ किलोमिटर सडक पञ्चायतकालीन समयमा नै कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख भएको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले धरान—विष्णुपादुका सडक निर्माणको शिलान्यासका क्रममा नै बाहिर आएको थियो। त्यसको ठिक १९ वर्षपछि बराहक्षेत्रमा महाकुम्भ धार्मिक मेला लाग्न थालेपछि औपचारिक रुपमा सडक कालोपत्रे योजना बालसन्त मोहनशरण देवाचार्यको दबाबमा सुरु भए पनि अझै त्यो कहिले पूरा होला भन्ने पर्खाइमा चतरावासी रहेका छन्। 

सडक कालोपत्रे होला र सहज रुपमा धरान—चतराको यात्रा होला भन्ने पर्खाइ धुवाँ र धुलो सहेर बसेका चतरावासीले पक्की सडक पाउनै मुस्किल भइसकेको गुनासो गर्दै आएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell