PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वैदेशिक रोजगारको नाममा लुटको शृंखला, शिक्षित युवासमेत कन्सल्टेन्सीबाट ठगिए



सविन ढकाल

वैदेशिक रोजगारको नाममा लुटको शृंखला, शिक्षित युवासमेत कन्सल्टेन्सीबाट ठगिए

काठमाडौं : गएको कात्तिक २० गते 'कान्तिपुर दैनिक'मा एउटा विज्ञापन छापियो- स्वीडेनमा रोगजारीको लागि आकर्षण अवसर।
 
बेरोजगारले भौंतारिएका युवाको आँखा विज्ञापनमा पर्‍यो। तत्काल केही युवाले सम्पर्क गरी आवेदन दिए। त्यसपछि सञ्चालकले अन्तरवार्तादेखि कागजात तयार पार्नेसम्मको कामका लागि भन्दै तिनै युवाबाट धमाधम पैसा उठाउन थाले।
 
यहीबीचमा प्रहरीसम्म सूचना पुग्यो- एक मेनपावर कम्पनीले २५ जनाभन्दा बढी युवासँग मोटो रकम लिएर विदेश पठाउने तयारी गरिरहेको छ। प्रहरीले अनुसन्धान थाल्यो- सो कम्पनीको सबै प्रक्रिया अवैध रहेछ।
 
युवाबाट मोटो रकम लिएर फरार हुन लागेका दुई भारतीय नागरिक अभिषेक यादव र मुकेश कुमार शर्मासँगै नेपाली नागरिक रमेश बास्तोलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समात्न सफल भयो। ठूलै भाग्य मान्नुपर्छ- ती २५ युवाको रकम स्वाहा हुनबाट बच्यो।
 
केही दिनअघि मात्र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले इलान इन्टरनेशनलका सञ्चालक धनश्याम अर्याललाई पनि पक्राउ गरेको थियो। ब्रुनाई पठाइदिन्छु भन्दै नक्कली डिमान्ड लेटर र भिसा देखाए ३० जनासँग उनले १ करोड ३० लाख उठाएका थिए। उनीमाथि अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ। उनीबाट ठगिएका युवाले पैसा फिर्ता पाउने हुन् या होइनन्, उनीहरु अन्योलमा छन्।
 

वैदेशिक रोजगारका नामका बढ्दो ठगी

पछिल्लो समय देशमा सबैभन्दा मौलाएको अपराधमा पर्छ वित्तीय अपराध। विदेश पठाइदिन्छु भन्दै अवैध मेनपावर सञ्चालकले युवाहरुबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढेको प्रहरी तथ्यांकले बताउँछ। कन्सल्टन्सीबाट यस्तो धन्दा हुने गरेको छ। जसबाट पढेलेखेका युवाहरु समेत ठगीको सिकार बन्ने गरेका छन्।
 
महानगरीय अपराध अनुसन्धान महाशाखामा दैनिक दर्ता हुने उजुरीमध्ये ९० प्रतिशत उजुरी ठगी सम्बन्धी रहेको छ। मेनपावार व्यवसायी र कन्सल्टेन्सीबाट हुने ठगीसम्‍बन्धी अहिले दैनिक ४ देखि ६ वटासम्म उजुरी पर्ने गरेका छन्। गत वर्षभन्दा यो झन्डै दोब्बर हो। महाशाखामा रहेको ठगीसम्बन्धी पिल्लर हेर्ने प्रहरी निरीक्षक गोविन्द पन्थी भन्छन्, 'आफूलाई हाई प्रोफाइल देखाउने मेनपावर व्यवसायी र कन्सल्टेन्सी सञ्चालकहरुबाट नै युवाहरु ठगिने गरेका छन्।'
 
गत आर्थिक वर्षमा महाशाखाले राजधानीका तीन दर्जन कन्सल्टेन्सीमाथि कारबाही गरेको थियो। अहिले राजधानीमा १२ सयभन्दा बढी कन्सल्टेन्सी रहे पनि अधिकांशले दर्ता नगरेको महाशाखाका एसपी सहकुल थापा बताउँछन्। यसबाट पनि  कारबाही र अनुगमन गर्न गाह्रो पर्ने गरेको उनले बताए।
 
मेनपावरबाट ठगिनेहरुको संख्या पनि कम छैन। चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा पक्राउ परेकामध्ये महाशाखाले मेनपावर र कन्सल्टेन्सीबाट ठगी गर्ने २४ जनामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिसकेको छ। सोही अवधिमा ठगीको अभियोगमा नै १७ वटा मेनपावर तथा कन्सल्टेन्सी कारबाहीमा परेका छन्।
 
देशमा रोजगारीको अवसर नहुँदा र अस्थिर राजनीतिका कारण वैदेशिक रोजगारको मोहमा युवाहरु यसरी फसिरहेका छन्। वैध/अवैध मेवपावर छुट्याउन नसकी विज्ञापनको मात्रै भर पर्दा उनीहरुबाट सञ्चालकले मोटो रकम कुम्लाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell