PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान



पहिलोपोस्ट

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

  • भोजेन्द्र बस्नेत 
सोलुखुम्बु : एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला? 

धानको उत्पादन राम्रो हुने ठाउँमा त चारपाँच मुरी नै उत्पादन होला। सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यान लगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्। 

तर सोलुखुम्बुकै छेस्काममा भने चार पाथी धानको बीउबाट सरदर छ-सात पाथी मात्रै उत्पादन हुने गरेको छ। तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन्। 

चार पाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर मङ्सिरमा भित्र्याउने समयमा निकै सप्रियो भने बढीमा आठ पाथी उत्पादन हुन्छ नत्र पाँच/छ पाथी मात्रै हो। 

छेस्काम–९ बाछित्तोमा धुमधामसँग रोपाइँ गरिएको खेतबाट बीउ बराबर मात्र उत्पादन भएपनि रोप्नैपर्ने बाध्यता छ। 

यसको कारण हो वर्षभरिका लागि चाहिने अक्षता। 

कुलुङको कुलदेवता बुझाउन र बिरामी परेमा झारफुक गर्नका लागि स्थानीय उत्पादनकै धान/चामल चाहिने विश्वास रहेकाले अक्षताकै लागि उनीहरु रोपाइँ गर्छन्। 

'कुनै बेलामा त बीउ आउन पनि मुस्किल पर्छ,' छेस्काम–६ का सरला कुलुङले भनिन्, 'बर्सेनि पाँच पाथी धानको बीउ रोप्छु, एकपटक धेरै सप्रिँदा आठ पाथी भित्राएँ, नत्र छ-सात पाथी मात्रै हो।' 

छेस्काम–६ कै विष्णुमाया कुलुङ रोपाइँमा त्यत्तिकै श्रम खेर गइरहेको भए पनि अक्षताकै लागि रोपाइँ आवश्यक रहेको बताउँछिन्। 'खानको लागि चामल त देउसाको बुढीडाँडाबाट किनेर ल्याइन्छ, तर वर्षभरिका लागि अक्षता त चाहियो नि!' उनले भनिन्। 

उत्पादन निकै कम हुने भए पनि अक्षताका लागि उनीहरुले अहिलेसम्म धान रोप्न छाडेका छैनन्। कुलपूजा, बिरामी पर्दा अक्षताजस्ता काममा स्थानीय उत्पादनकै धान-चामल अनिवार्य चाहिने भएकाले धान रोप्नु उनीहरुको बाध्यता हो। उनीहरु धानको पराललाई घाँस तथा गुन्द्री बन्न प्रयोग गरेर श्रमको मूल्य पाएको भन्दै चित्त बुझाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell