
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताएका छन्।
महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा मंगलबार आयोजित समारोहमा सम्बोधन गर्दै उनले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश यो कार्यले दिएको बताए।
पुनःनिर्माणमा मुलुकभित्र र बाहिरका व्यक्ति तथा सङ्घसंस्थाको उल्लेख्य सहयोग भएकामा प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, 'महाचैत्यको पुनःनिर्माण स्वतन्त्रता, जिम्मेवारी र गम्भीरताका साथ गरिनु खुसी र गौरवको कुरा हो।'
विश्व सम्पदा सूचीमा रहेको सो ऐतिहासिक सम्पदालाई आफैँले पुनःनिर्माण गर्न सक्छौँ भन्ने प्रमाणित भएको उल्लेख गर्दै उनले भने, 'हामी पुनःनिर्माणको ऐतिहासिक चरणमा छौँ। एकातिर जनताका क्षतिग्रस्त घरको पुनःनिर्माण गर्नुछ भने अर्कातिर पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।'
२०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट २० करोड ९० लाख प्राप्त भएको थियो।रासस