PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भारु साट्ने नाममा ठग्ने गिरोह सक्रिय, नचल्ने भारु साट्न खोज्दा चल्ने १६ लाख नेरु झ्वाम्



सविन ढकाल

भारु साट्ने नाममा ठग्ने गिरोह सक्रिय, नचल्ने भारु साट्न खोज्दा चल्ने १६ लाख नेरु झ्वाम्

काठमाडौँ : भारतमा भारु ५ सय र हजारको नोट नचल्ने घोषणा भएको दुई साता पुग्न लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोट नचल्ने घोषणा गरेको भोलिपल्टै नेपाल राष्ट्र बैँकले सूचना निकाली भारतीय नोटको कारोबार नगर्न सूचना जारी गरिसकेको छ। तर नेपालमा भएका नोटहरु भारतले कहिले कसरी साटिदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन।
 
यही अन्योलको फाइदा उठाउँदै भारु साटिदिने नाममा ठगी गर्ने गिरोह नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। ठगीको आरोपमा पक्राउ परेका भारतीय नागरिक हरेकृष्ण शाहमाथिको अनुसन्धानबाट प्रहरीले थप रहस्य उजागर गरेको छ।
 
हरेकृष्णले ठगीका लागि अपनाएको उपाय, उनी नेपालमा बसेको अवधि आदिले पनि उनले अरुको सहयोगमा धेरैलाई फन्दामा पारेको हुन सक्ने प्रहरी अनुमान छ।
 

यस्तो थियो उनको ठग्ने उपाय

रौतहट झुनखुनवा-७ का माछा व्यापारी अब्दुल रहिमसँग करिब ५० लाख बराबरको भारतीय नोट थियो। भारतमा यो नोट नचल्ने घोषणा भएसँगै उनी स्तब्ध भए र कसरी साट्न सकिन्छ भन्दै सकेजति उपाय लगाएर सोधखोज गरिरहे।
 
हरेकृष्णले थाहा पाए, रहिमसँग ठूलो परिमाणमा भारतीय रुपैयाँ छ। अनि योजना बुन्न थालिहाले ठग्ने।
 
भारतकै नम्बरबाट उनले फोन गरेर रहिमको पैसा साटिदिने आश्वासन दिए। पैसा साट्नकै लागि भन्दै हरेकृष्ण नेपाल आए। भारतमै भारु साट्न त भारतीय जनतालाई गाह्रो भइरहेका बेला नेपालमा सजिलै भारु साटिन्छ भन्ने पत्याए रहिमले।
 
भारुसँग नेरु साट्ने डिल भइसकेको थियो। तर भेटमा अनपेक्षित कुरा आयो। ‘मैले तपाईँलाई दिन ल्याएको पैसा त ट्याक्सीमा हरायो,’ हरेकृष्णले ठगीको जालो फ्याँके।
 
उजुरी किन नगरेको त प्रहरीमा? जवाफ तयार थियो हरेकृष्णसित। भने, ‘उजुरी गर्न गयो भने त कालोधन भनेर समातेर उल्टै मलाई गाह्रो बनाउँछ।‘
 
आफ्नै लाखौँ रकम कागजको खोस्टा हुन लागेको पीडामा रहेका रहिमले पत्याए। माछो जालमा परिसकेको थियो। भारतमा पुगेपछि पैसा दिने आश्वासन दिँदै उनले अहिलेलाई नेपाली रुपैयाँ यो बैँकमा जम्मा गरिदिनुस् भन्दै ग्लोबल आइएमइको अनामनगरमा रहेको बैँक खाता नम्बर दिए र १६ लाख नेपाली रुपैयाँ हाल्न लगाए।
 
त्यति मात्र होइन साटिदिन्छु भनेको २० लाख भारु समेत उनले लिएर गए। भारत गएपछि पैसा पठाइदिन्छ भन्नेमा ढुक्क थिए रहिम। तर केको पैसा आउनु। भएको नचल्ने भारु पनि गयो, आफूसँग भएको नेरु पनि गयो।
 
नचल्ने भारु साट्न खोज्दा चल्ने १६ लाख नेरुसमेत झ्वाम् भएपछि बल्ल उनले आफू ठगीमा परेको चाल पाए र हत्तारिँदै उजुरी गर्न प्रहरीकहाँ पुगे। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार बैँकमा रकम जम्मा गर्न जाँदाको सिसिक्यामेराको दृश्यमा हरेकृष्ण कैद भएका थिए। त्यसै अनुसार अनुसन्धान अघि बढ्यो र कलंकीबाट उनी मंसिर ३ गते पक्राउ परे।
 
हालसम्म रहिमको मात्रै उजुरी परे पनि प्रारम्भिक अनुसन्धानमा उनले यसरी अरु धेरैलाई ठगी गरेको हुन सक्ने पन्थीको अनुमान छ। यस्तो कार्यमा नेपालीको सहायतामा भारतीय नागरिक सक्रिय भएको हुन सक्ने उनी बताउछन्।
 

यसरी ठगी गर्नेले ५ उपाय अपनाउँछन्-

१)   सुरुमा भारतीय ५ सय र हजारका नोट भएका व्यक्तिको पहिचान। विभिन्न व्यक्तिबाट कोसित कति रकम छ भन्ने सूचना संकलन।
२)   उनीहरुलाई भारु साटिदिन्छु भन्ने आश्वासन दिने।
३)   साट्न लागेको बेला कुनै बहानामा आफूले अहिले रकम ल्याउन नसकेको विश्वास दिलाउने र पछि दिन्छु भन्दै अरुलाई अहिले नै बैँकमा रकम जम्मा गर्न लगाउने।
४)   यो क्रममा आफ्नो बैँकको खाता नम्बर नदिई अरुकै खातामा रकम जम्मा गर्न लगाउने।
५)   जसको खातामा रकम जम्मा भएको हो, रकम जम्मा भइसकेपछि उसलाई सम्पर्क गरी मेरो रकम गल्तीले तपाईँको खातामा आयो, तपाईँ केही हजार राख्नुस्, बाँकी मलाई दिनुस् भनी फकाएर लिने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell