PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुट नरोकिँदा यसरी बन्द भए नेपालका १० उद्योग



पहिलोपोस्ट

अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुट नरोकिँदा यसरी बन्द भए नेपालका १० उद्योग

काठमाडौं : भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेर मुलुकका १० बिस्कुट उद्योग बन्द भएका छन्। अनधिकृत रुपमा भित्रिएका भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेर ती उद्योग बन्द भएका हुन्।
 
एसियन बिस्कुट उद्योगका सञ्चालक महेश जाजूका अनुसार बाबा बिस्कुट, मयुर बिस्कुट, गोर्खा बिस्कुट, हुलास बिस्कुट, बबी बिस्कुट, जयकाली बिस्कुट उद्योग बन्द भएका छन्।
 
उनले सरकारले स्वदेशी उद्योगको संरक्षण गर्न नसक्दा उद्योग बन्द हुने क्रम बढ्दो रहेको जानकारी दिए। उद्यमी जाजूका अनुसार भारतबाट गुणस्तरहीन बिस्कुट अनधिकृत रूपमा पैठारी भएर आएकाले नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन्।
 
‘सरकारी निकायले पसल–पसलमा अनुगमन गरेको जानकारी हुन्छ’, उनले भने, ‘तर अवैध पैठारी गरिएका बिस्कुट बरामद गर्ने हिम्मत कसैको भएन।’ यसैकारण बन्द हुने बिस्कुट उद्योगको नामावली लामो भएको हो।’
 
उद्यमीहरूले बिस्कुटको आयातमा भन्सार महसुल उचित भए पनि मूल्याङ्कन भने अवैज्ञानिक र पुरातन रहेको बताउँछन्। भारतबाट बिस्कुट आयात गर्दा एक किलोग्राम बिस्कुटको भारु ७५ रुपैयाँ मूल्याङ्कन गरेर भन्सार महसुल लिने गरिएको प्रचलनप्रति उद्यमीहरूको आपत्ति छ।
 
जाजूले भने, ‘एक किलोग्रामको ७५ भारु भनेर मूल्याङ्कन गर्दा थोरै भन्सार महसुल तिरेर आयात गर्न सकिन्छ। वास्तवमा बिस्कुटमा उल्लेखित अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) लाई आधार मानेर महसुल लिइनुपर्छ।’
 

चिनी आयात गर्न पाऊँ

बिस्कुट उद्यमीहरूले बारम्बार उठाउँदै आएको अर्को मुद्दा कच्चा पदार्थका रूपमा चिनी आयात गर्न पाउनु पनि हो। सरकारले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङलाई मात्र चिनी आयात गर्न पाउने एकाधिकार दिएको छ।
 
‘नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङले महँगो भन्सार महसुल तिरेर आयात गरेको चिनी कच्चा पदार्थका रूपमा बिस्कुट र कन्फेक्सनरी उद्योगले खरीद गरिरहेका छन्’, जाजूले भने, ‘वास्तवमा चिनी हाम्रो मुख्य कच्चा पदार्थ हो र हामीले कच्चा पदार्थकै रूपमा यसको आयात गर्न पाउनुपर्छ।'
 
औद्योगिक कच्चा पदार्थ आयात गर्दा सरकारले भन्सार महसुलमा छुट दिएको छ। औद्योगिक कच्चा पदार्थको भन्सार मूल्याङ्कन बढीमा १० प्रतिशत र व्यापारिक प्रयोजनका लागि आयात गरिएको चिनीमा २५ प्रतिशत छ।
 

कसरी चिन्ने अवैध पैठारीका बिस्कुट?

अवैध पैठारी गरिएका बिस्कुटका खोलमा उल्लेख गरिएको  एमआरपीमा आइएनआर (इन्डियन रुपिज) लेखिएको हुन्छ। नेपालका पसलमा विक्री गर्न राखिएका बिस्कुटका खोलमा आइएनआर लेखिएको पाइएमा ती अवैध पैठारीका भएको बुझ्न सकिने उनले बताए।
 
तर नियमअनुसार कानुनी बाटोबाट भित्र्याइएका बिस्कुटका खोलमा उल्लेख गरिएको एमआरपीमा भने एनआर लेखिएको हुन्छ। एनआरको अर्थ नेपाली रुपैयाँ हो।
 

एन्टी डपिङ ड्युटी लगाउन माग

सरकारले पूरक बजेट ल्याउने तयारी गरिरहेका बेला स्वदेशी उद्योगीले आयातित बिस्कुटमा एन्टी डपिङ ड्युटी लगाउन माग गरेका छन्। उनीहरुले नेपाल बिस्कुटमा आत्मनिर्भर भइसकेको बताउँदै स्वदेशी उद्योग संरक्षणका लागि एन्टि डपिङ ड्युटी लगाउन माग गरेका हुन्।
 
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं एसियन बिस्कुट उद्योगका सञ्चालक महेश जाजूले राजस्व सचिव राजन खनाललाई भेटेर अतिरिक्त भन्सार लगाउन माग गरेको जानकारी दिए।
 
सचिव खनालले एन्टी डम्पिङ ड्युटीसम्बन्धी कानुन नेपालमा नभएको र विधेयकका रूपमा संसद्मा पेश भएको जानकारी दिए। उनले संसदबाट पारित भएमा तत्कालै कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell