PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

५ नम्बर प्रदेशको सीमाङ्कन हेरफेरबारे कांग्रेस शीर्ष नेताको बैठक



पहिलोपोस्ट

५ नम्बर प्रदेशको सीमाङ्कन हेरफेरबारे कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौँ : नेपाली कांग्रेसले प्रदेश नं ५ को सीमाङ्कन हेरफेरको विषयमा छलफल गर्ने भएको छ। कांग्रेसका शीर्ष नेताहरुको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संशोधन प्रस्ताव अगाडि बढाउनु अघि थप छलफल आवश्यक रहेको निष्कर्ष निकालेको हो।

'५ नम्बर प्रदेशका स्टेक होल्डरसँग गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्छ', बैठकपछि उपप्रधान मन्त्री विमलेन्द्र निधिले भने। यद्पि उनले स्टेक होल्डर को-को हुन् भन्ने स्पष्ट रुपमा खुलाएनन्।

नेकपा एमालेको पाँच नम्बर प्रदेश भेलाले सीमाङ्कन हेरफेर भए आन्दोलन गर्ने चेतावनी दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पाँच नम्बर प्रदेश किन टुक्र्याउने भन्दै लुम्बिनीबाट प्रश्न तेर्स्याएका थिए।

सोमबार भएको तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको प्रस्ताव गरेका थिए।
उपप्रधान मन्त्रीले निधिले बुधबार सत्तापक्षीय दलहरुको बैठक बसेर संशोधनबारे निर्णय लिने बताए।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने संशोधनका विषयमा एमाले लगायत सबैपक्षसँग छलफल गर्ने बताए।

कांग्रेस शीर्ष नेताहरुको बैठकमा नागरिकता, पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेर, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा समेत छलफल भएको बैठकमा सहभागी सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell