
म्याग्दी : म्याग्दीको भगवती–८ सिजलगाउँमा एक घरमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ। स्थानीयवासी कुलबहादुर भण्डारीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको हो।
राति करिब साढे १ बजे एक्कासि आगलागी भएपछि भण्डारीको दुईतले घर पूर्णरुपमा क्षति भएको छ भने घरभित्र रहेका खाद्यान्न, अन्नपात लगायतका सबै सामग्री समेत जलेर नष्ट भएको स्थानीय अन्नपूर्ण प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले बताए।
आगलागीबाट भण्डारीको घरभित्र रहेको पाँच तोला सुन, नगद रु २५ हजारसहित कोदो, मकै, धान लगायतको खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएको छ। रातको समयमा आगलागी भएकाले घरभित्र रहेको नगदसहित, खाद्यान्न, भाँडाकुँडा केहीपनि जोगाउन नसकिएको हो।
सबै सामान जलेर नष्ट भएपछि घरबारविहीन आगलागी पीडित अहिले वस्तुभाउ राख्दै आएको गोठमा बस्दै आएका छन्।रासस