काठमाडौं : भूकम्पबाट क्षति भएका घरमध्ये सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकमबाट १२ हजार घरको पुनर्निर्माण सुरु भएको छ।
सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको पुनर्निर्माण सुरु भएको हो। सबैभन्दा धेरै नुवाकोटमा ३ हजार १६२ घरको पुनर्निर्माण सुरु भएको छ। सिन्धुपाल्चोक, धादिङ काभ्रे गोर्खा दोलखा रामेछाप सिन्धुली मकवानपुर ओखलढुंगा रसुवा लगायतका अतिप्रभावित जिल्लामा पीडितहरुले पहिलो किस्ताको रकमले घर पुनर्निर्माण थालेका हुन्।
गाउँमा खटिएका इन्जिनियरहरुको सहयोगले पुनर्निर्माण भएका घरको तथ्यांक संकलन गर्न सुरु भएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख शिवहरी शर्माले बताए। सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर, ओखलढुङ्गा र रसुवा जिल्लाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको उनले जानकारी दिए।
तीन किस्तामा तीन लाख पाउन के गर्ने?
सरकारले भूकम्पपीडितलाई तीन किस्तामा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान कार्यविधि संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको छ। नयाँ घोषणा अनुसार भूकम्प पीडितले पहिलो किस्तामा ५० हजार, जग हालिसकेपछि सहरी विकास मन्त्रालयले गाविस तथा नगरपालिकामा खटाएका इन्जिनियरको सिफारिसमा रु १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ पाउनेछन्। प्राधिकरणका अनुसार दोस्रो र तेस्रो किस्ता प्राप्त गर्नका लागि भूकम्प प्रतिरोधी प्रविधि अनुसार घर पुनर्निर्माण गरेको हुनुपर्छ।अनुदान पाउनुअघि पनि भूकम्प प्रभावित क्षेत्रका केही ठाउँमा घरहरु बनाइएका छन्। कार्यान्वयन इकाइ प्रमुख शर्माका अनुसार अब त्यसको विवरण पनि आउनेछ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास पुनर्निर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरहरुले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताए। पहिलो किस्ताको अनुदान रकम वितरण भइसकेकाले अब धेरैले घर निर्माण सुरु गर्ने उनको विश्वास छ।
प्राधिकरणका अनुसार अनुदान पाउने छनौट सूचीमा परेका घरधनीले भूकम्प प्रतिरोधी घर बनाएको प्रमाणित भएमा एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउन सक्नेछन्।