PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

फोरजीका लागि प्रतिस्पर्धा, स्मार्टसेलले माग्यो लाइसेन्स



उमेश पौडेल

फोरजीका लागि प्रतिस्पर्धा, स्मार्टसेलले माग्यो लाइसेन्स

काठमाडौं : मुलुकको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टसेलले पनि फोरजी सेवा सञ्चालनका लागि नेपाल दुरसञ्चार प्राधिकरण समक्ष आवेदन दिएको छ। कम्पनीले १८ सय ब्याण्डमा चौथो पुस्ताको यो सेवा चलाउने अनुमति माग गरेको हो।
 
स्मार्ट फोरजीका लागि निवेदन दिने तेस्रो कम्पनी भएको छ। नेपाल टेलिकमले यसअघि नै यो सेवा सञ्चालनको अनुमति पाइसकेको छ। लाभकर नतिरुन्जेल अनुमति नदिने बताइएको एनसेललाई पनि प्राधिकरणले तिहार बिदाको मुखमा फोरजी चलाउने 'रोल आउट प्लान' मागेको थियो।
 
सरकारले गत असारमा फ्रिक्वेन्सी नीति संशोधन गर्दै पुरानै ब्यान्डमा फोरजी चलाउन पाउने बाटो खुला गरेपछि कम्पनीहरुले आवेदन दिन थालेका थिए। त्यसैमा पछिल्लो पटक स्मार्ट थपिएको हो।
 
स्मार्टले अनुमति पाएको तीन महिनामा काठमाडौं उपत्यकामा फोरजी सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ। कम्पनीका सञ्चार अधिकृत पवन शाक्यले फोरजीका लागि पूर्वाधार हुने गरी टुजीको विस्तार भइरहेको बताए। 'उपत्यकामा थप १०० वटा टावर विस्तार गर्न लागेका छौँ,' उनले भने।
 
काठमाडौंमा ६९ वटा, ललितपुरमा २० वटा र भक्तपुरमा ११ वटा टावर थप गर्ने कम्पनीको तयारी छ। यी टावरहरुले टुजी र फोरजी दुवै प्रविधि सपोर्ट गर्नेछन्। सुरुमा काठमाडौं, पोखरा र चितवन, विरगंज र नेपालगन्जमा टुजी विस्तार गर्ने र सोही स्थानहरुमा फोरजीका लागि पनि काम अगाडि बढाउने शाक्यले बताए।
 
कम्पनीले आफूले अनुमति पाउनु अगावै नेपाल टेलिकमको सेवा सुरु भइसक्ने हुँदा भ्वाइस भन्दा डाटामा केन्द्रित रहेको योजना बनाउने उनको भनाइ छ।
 
अब सुरुमा प्राधिकरणले स्मार्टसँग सेवा विस्तारसम्बन्धी 'रोलआउट बिजनेश प्लान' माग गर्नेछ। कम्पनीले योजना पेस गरेपछि प्राधिकरणले निश्चित अवधि र सर्त तोकी सेवा सञ्चालनको अनुमति दिनेछ।
 
स्मार्टले टुजी सेवा सञ्चालनका लागि लिएको समय सीमा र उसको काम कारबाहीको स्थलगत निरिक्षण गरेर पश्चात फोरजीका लागि अनुमति दिन सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
 

स्मार्टसँग कुनकुन छन् फ्रिक्वेन्सी?

स्मार्ट टेलिकमसँग हाल दुई वटा ब्याण्डमा मात्र फ्रिक्वेन्सी रहेको छ। ऊसँग टुजी चल्ने ९०० मेगाहर्जमा पाँच मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ भने टुजी तथा फोरजी दुवै चल्ने १८ सय मेगाहर्जमा १२ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ।
 
२१ सय र २३ सय मेगाहर्जमा स्मार्टसँग कुनै फ्रिक्वेन्सी छैन। उसले फ्रिक्वेन्सी नीतिमा उल्लेख भए अनुसार ९०० मेगाहर्ज ब्याण्डमा थप ६ मेगाहर्ज, १८ सय मेगाहर्ज ब्याण्डमा २० मेगाहर्ज, २३ सय मेगाहर्ज ब्याण्डमा ३० मेगाहर्ज र २१ सय मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी दिन समेत प्राधिकरणलाई अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell