
कपिलवस्तु : दमकल ढिलो आइपुग्दा कपिलवस्तुको चन्द्रौटामा ठूलो क्षति भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा रहेको टायर रिसोलिङ सेन्टरमा मंगलबार आगलागी सुरु हुनासाथ दमकललाई खबर गरिएको थियो। तर २० किलोमिटरको दूरीमा रहेको कृष्णनगरको दमकल दुई घन्टापछि मात्र घटनास्थलमा आइपुग्यो। आगलागीबाट दुई लाख ५० हजार बराबरको नोक्सानी भएको छ।
टायर रिसोलिङ सेन्टरको गोदाममा रहेका पुराना दुई सय ५० टायर जलेर नष्ट भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए। दमकल ढिलो आएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। आगो गएराति ९ बजे नियन्त्रणमा आएको थियो।
राजु शाहको घरमा रिसोलिङ सेन्टर खोलेका अली हुसेनको टायर गोदाम लागेको आगोले पूरै टायर जलेर खरानीमा परिणत भएको हो। आगलागीबाट गोदाम नजिकै रहेका चार घरमा समेत सामान्य क्षति पुगेको छ।