
स्पानिस जायन्ट रियल मड्रिड र इटालियन जायन्ट युभेन्ट्स युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।
वैकल्पिक खेलाडी करिम बेन्जामाले निर्णायक गोल गरेपछि रियल पोर्चुगिज क्ल स्पोर्टिङ सिएफलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
राफेल भरानले २९ औं मिनेटमा गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको स्पोर्टिङलाई अर्को झड्का लाग्यो।
६४ औं मिनेटमा जाओ परेइरा सिधै रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि स्पोर्टिङ १० खेलाडीमा झर्यो। एक खेलाडी कम हुनाका बाबजुद पनि स्पोर्टिङ खेल बराबरी गर्यो।
८० औं मिनेटमा आन्द्रै शिल्भाले पेनाल्टीमार्फत गोल गर्दै १-१ को बराबरी गरे। तर बैकल्पिक खेलाडी बेन्जामाले खेल सनिक ३ मिनेट अगाडी निर्णायक गोल गरेपछि रियलले स्पोर्टिङमाथि २-१ को कठिन जित हात पारेको हो।
जितपछि रियल डर्टमण्डसँगै समूह एएफबाट अन्तिम १६ मा प्रवेश गरेको छ। ५ खेलबाट ११ अंक जोडेको रियल समूह एफको दोस्रो स्थानमा छ। डर्टमण्ड १३ अंकसहित शीर्ष स्थानमा छ। ५ खेलबाट ३ अंक मात्र जोडेको स्पोर्टिङको भने नकआउट सम्भावना सकिएको छ।
यस्तै युभेन्ट्स अर्को स्पानिस क्लब सेभियालाई ३-१ ले हरायो। खेलको नवौ मिनेटै निकोलज पेजाले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएपनि फ्रान्ज भजकजले २९ औं मिनेटमा रातो कार्ड बेहोरेपछि युभेन्ट्सले लगातार ३ गोल गरेको हो।
युभेन्ट्सको जितमा क्लाउडियो मार्चिसियो, लियोनाड्रो बोनुची र मारियो मान्डुकिचले १-१ गोल गरे।
युभेन्ट्सको जितमा मोइस केनले च्याम्पियन्स लिगमा डेब्यु समेत गरेका छन्। ८४ औं मिनेटमा मिरालेम पिजानिकको स्थानमा मैदान प्रवेश गरेका केन २००० यता जन्मेर च्याम्पियन्स लिग खेल्ने पहिलो खेलाडी बनेका छन्।
सेभिया विरुद्ध च्याम्पियन्स लिगमा डेब्यु गर्दा उनको उमेर १६ वर्ष २६७ दिन थियो। तर च्याम्पियन् लिगमा डेब्यु गर्ने उनै कम उमेरको खेलाडी भने होइनन्। केन च्याम्पियन्स लिगमा डेब्यु गर्ने छैटौ युवा खेलाडी बनेका छन्।
केनले केही अघि मात्र सबैभन्दा कम उमेर इटालियन सिरी ए मा डेब्यु गर्दै कीर्तीमान बनाएका थिए।
जितपछि ५ खेलबाट ११ अंक जोडेको युभेन्ट्स अन्तिम १६ मा प्रवेश गरेको छ। हारसँगै सेभियाले भने नकआउट चरणमा स्थान बनाउन अन्तिम खेल कुर्नुपर्ने भएको छ।
अर्को खेलमा फ्रेन्च क्लब लियोनले डाइनामो जाग्रेवलाई पराजित गरेपछि सेभियाले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो। लियोन र जाग्रेवले बराबरी खेलेको भए सेभिया हारेपनि एक खेल अगावै नकआउट चरणमा पुग्ने थियो।
अब अन्तिम खेलमा सेभियाले लियोनसँग उसैको मैदानमा खेल्दैछ। सेभियाको १० तथा लियोनको ७ अंक छ। सेभियाको लागि लियोनसँग बराबरी नतिजा नै नकआउट पुग्न पर्याप्त हुनेछ।
गोल अन्तरमा पनि सेभिया अगाडी छ। यस्तै घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पनि सेभियाले लियोनलाई पराजित गरेको थियो।
लियोनले सेभियालाई २ गोल भन्दा बढीको अन्तरमा पराजित गरेमात्र लियोन नकआउट चरणमा प्रवेश गर्नेछ।