PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

ओलम्पिकमा छनोट हुने लक्ष्यसहित अमेरिकाबाट नेपाल फर्किइन् विमला तामाङ



पहिलोपोस्ट

ओलम्पिकमा छनोट हुने लक्ष्यसहित अमेरिकाबाट नेपाल फर्किइन् विमला तामाङ

  • विष्णुहरि घिमिरे
न्यु योर्क : पछिल्लो एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक दिलाउन सफल कराते खेलाडी विमला तामाङ आसन्न ओलम्पिकमा छनौट हुने लक्ष्य सहित अमेरिकाबाट नेपाल फर्किएकी छिन्।
 
फिका इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा भाग लिन आएकी विमला दुई साताको अमेरिका बसाइपछि सोमबार नेपाल फर्किएकी हुन्। न्यु योर्कमा सम्पन्न च्याम्पियनसिपमा विमलाले स्वर्ण पदक जितेकी थिइन्। सोही क्रममा उनले एक सातासम्म इन्टरनेशनल मार्शलआर्ट्स एसोसिएशन न्यु योर्कमा प्रशिक्षण समेत गरिन्। 
 
ओलम्पिकको आगामी संस्करण सन् २०१८ मा जापानमा हुँदै छ। ओलम्पिकको इतिहासमा कराते खेल पहिलो पटक सहभागी हुँदै छ। 'राष्ट्रिय स्तरका खेलाडीका लागि ओलम्पिक अन्तिम गन्तव्य हो,' विमलाले भनिन्, 'हामी कराते खेलाडीका लागि पहिलो पटक अवसर आएको छ। म त्यसको सदुपयोग गर्नु पर्छ भन्नेमा छु।'
 
'नेपाल पुगेपछि म सातौँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्छु,' ओलम्पिकमा छनोट हुनका लागि विमलाले योजना पनि बनाएकी छिन्, 'त्यसपछि एशियाडमा फोकस हुन्छु, एशियाडमा अझै थप सफलता हात पार्छु भन्ने छ।'
 
सातौं खेलकुद आउँदो पुसमा पूर्वाञ्चलमा सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्ले हालै मात्र मिति सार्वजनिक गरेको छ। एशियाली खेलकुदको आगामी संस्करण सन् २०१८ मा इन्डोनेशियामा हुँदै छ।
 
चार वर्षको समय रहेकाले अहिलेदेखि नै योजनाबद्ध प्रशिक्षण गर्ने हो भने जापान ओलम्पिकमा नेपाली करातेको सहभागिता रहन सक्ने विमलाको भनाइ छ।
 
'एशियन गेमपछिको राम्रो प्रतियोगिता पहिलो पटक अमेरिकामा खेलेँ, धेरै स्तरीय लाग्यो,' उनमा आत्मविश्वास बढेको छ, 'यो सफलताले अझै धेरै जित्न सक्छु भन्ने लागेको छ।' न्यु योर्कमा रहेका कराते प्रशिक्षक शान्ता थोकरको सहयोगबाट पनि आफूमा आँट बढेको विमलाले बताइन्।
 
उनले थपिन्, 'म सरकार र आधिकारिक खेल निकायभन्दा पनि व्यक्तिहरुकै सहयोग र सद्भावले यहाँसम्म आइपुगेकी हुँ। यस्तै सहयोग पाउँदै गएँ र अरु पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएँ भने ओलम्पिक छनोट हुन्छु भन्ने लाग्छ।'
 
धादिङको सेम्जोङमा जम्मिएकी विमला दशरथ रंगशालाको प्रशिक्षणबिना एशियाडमा  पदक जित्ने खेलाडी हुन्। उनी कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको बालाजु डोजोकी उत्पादन हुन्। दुई कराते संघ अस्तित्वमा रहँदा राष्ट्रिय टिममा नपरे पनि अन्यौलका बीच कोरिया पुगेकी विमलाले पदक हात पारेकी थिइन्।
 
कराते संघमा आधिकारिताको विवाद अझै थाती नै रहेकाले आफ्नो चारवर्षे योजनामा ठेस लाग्ने त होइन भन्ने आशंका पनि विमलाको मनमा छ। 'धेरै राजनीति भयो। दुई वटा संघ, जहिले विवाद,' उनको बुझाइ छ, 'यस्तो नहुने हो भने धेरै राम्रा खेलाडी आउथेँ कि भन्ने पनि लाग्छ।'
 
पदाधिकारीहरुको विवादले नै करातेको प्रर्दशन खस्कँदै गएकोमा उनी चिन्तित पनि छिन्।
 

तामाङ सोसाइटीको सम्मान


नेपाल फर्कनुअगाडि विमला न्यु योर्कमा नगदसहित सम्मानित भइन्। तामाङ सोसाइटी अफ अमेरिकाले विमलाको सम्मानमा ज्याक्सन हाइटमा रात्रिभोजको आयोजना गरेको थियो। सोही अवसरमा सोसाइटीका अध्यक्ष शान्त थोकरले एक हजार अमेरिकी डलर समेत प्रदान गरे।
 
सम्मान कार्यक्रममा थोकरले एशियाडको एक मात्र पदक विजेता खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। विमलाले आफ्नो सफलतापछि प्राप्त सम्मानमा तामाङ समुदाय नै अगाडि रहेको बताउँदै यसले आफूलाई थप उत्साह प्रदान गर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell