भोजपुर : लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यति बेला जोखिममा परेको छ। घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन्। अधिकांश कच्ची घर भएको भोजपुर सदरमुकाम भूकम्पले थिलथिलो र आगलागीले ध्वस्त भएपछि सदरमुकाम नै जोखिममा परेको हो।
उत्तरमा पानीट्याङ्की, दक्षिणमा विद्योदय मावि, पूर्वमा पोखरे र पश्चिममा कोदार र देउरालीबाट सुरु हुने भोजपुर सदरमुकाम डाँडामा रहेको छ। थोरै मात्रामा घर ध्वस्त भए पनि अधिकांश घर बस्न नमिल्ने छन्।
बजारको मुख्य ठाउँमै पर्ने भोटेपसलमै आगलागीले घर ध्वस्त भएपछि बजार नै कुरुप देखिएको हो।
भोजपुरबजार चर्चित र पुरानो भएपनि यहाँ औँलामा गन्न सकिने सीमित घर मात्र पक्की बनेका छन्। सदरमुकाममा कच्ची र पुराना घरको बाहुल्यता हुँदा धेरै मात्रामा क्षति पुगेको हो।
वरिपरि र चारैतिर रहेका घर आगलागी हुँदा सदरमुकाम दिनानुदिन जोखिममा पर्दै जान थालेको छ। दुईतिर घर हुँदा साँघुरो बाटो रहेको भोजपुरमा हिँड्डुल गर्नमा नै समस्या हुन थालेको छ।
यही ठाउँ हुँदै दिनहुँ बटुवा तथा सयौँ विद्यार्थी ओहोरदोहोर गर्ने गर्दछन्। जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्कमा आइतबार भएको भीषण आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेको छ।