PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'क्यामेरा ट्रयाप' प्रविधिबाट पर्सामा सुरु भयो बाघ गणना



राधेश्याम पटेल

'क्यामेरा ट्रयाप' प्रविधिबाट पर्सामा सुरु भयो बाघ गणना

वीरगन्ज : पर्सा वन्यजन्तु आरक्षमा बाघ गणना तथा अनुगमन सुरु भएको छ।
 
सोमबारदेखि सुरु भएको बाघ गणना अबको दुई महिनासम्म चल्नेछ। यो कार्यमा प्रशिक्षणपछि ३५ जना प्राविधिक खटाइएको आरक्षका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।
 
बाघ गणना टोलीमा आरक्षका कर्मचारी, पर्सा संरक्षण कार्यक्रमका प्राविधिकहरु रहेका छन्। आरक्ष क्षेत्रको विभिन्न ठाउँमा ६७ वटा ग्रिडमा अटोमेटिक क्यामेरा जडान गरिने छ। त्यस क्यामेराबाट बाघ तथा आहारा प्रजातिको वन्जयजन्तुको अनुगमन गरिने अधिकृत कँडेलले बताए। दुई ब्लकमा आरक्षलाई विभाजन गरी क्यामेरा ट्रयाप प्रविधिबाट बाघको अनुगमन गर्न लागिएको हो।
 
राष्ट्रिय प्रकृति संरक्षण कोष र जेडएसएल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको बाघ गणना कार्यमा विभिन्न ठाउँमा जडित क्यामेराले दुई किलोमिटर वरपरसम्मको तस्बिर कैद गर्छ।
 
अति संवेदनशील क्यामेराले हल्का हावा, पात वा जन्तु चलेको गतिविधि पनि कैद गर्ने  भएकाले बाघसंगै अन्य जीवजन्तुको जानकारी पनि प्राप्त हुने सहायक संरक्षण अधिकृत कँडेलको भनाइ छ। क्यामेरामा एकातिर रिसिभर र अर्कोतिर ट्रान्सफर्मर जडान गरिएको हुन्छ। सामान्य किरण पर्नासाथ पनि क्यामेरा सक्रिय हुन्छ।
 
आरक्षको २०७३ को गणना अनुसार हाल १९ वटा बाघ रहेका छन्। सन् २०१३ को राष्ट्रिय बाघ गणनामा यहाँ ७ वटा मात्र फेला परेका थिए। सन् २०२२ सम्म बाघ दोब्बर गर्ने लक्ष्य रहेकोमा आरक्षले गत वर्ष नै लक्ष्य पूरा गरिसकेको छ।
 
पर्सा, बारा र मकवानपुरको ६ सय २७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्ष हात्तीको प्राकृतिक बासस्थानको रुपमा समेत चिनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell