
बोगोटा : कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीच बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ।
करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको हो।
नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ। दोस्रो पटक जनमत सङ्ग्रहमा जानुभन्दा अनुमोदनको लागि संसदमा पेश गर्नु नै तुलात्मक रुपमा राम्रो हुने बताइएको छ। द्वन्द्व अन्त्य गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तयार पारिएको नयाँ शान्ति सम्झौता अन्तिम अवस्थामा पुगेको दुवै पक्षद्धारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ।
नयाँ शान्ति सम्झौता गत नोभेम्बर १२ मा पहिलो पटक घोषणा गरिएको थियो। आज हुने हस्ताक्षर सम्झौतामा हस्ताक्षर भएपछि अनुमोदनको लागि संसदमा पेश गरिने दुवै पक्षले बताएका छन्।
दुई पक्षबीच नयाँ सम्झौताको लागि वर्तमान राष्ट्रपति जोन म्यानुएल सन्तोषको अथक प्रयास रहेको र प्रतिपक्षी दलसँग पनि पर्याप्त छलफल गरेका छन्। सन्तोषले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श गरेको बताए।
विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आएका थिए।
कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए।रासस/एएफपी