PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

संविधान संशोधनबारे के छलफल भइरहेको छ, मलाई थाहा छैन : उपेन्द्र यादव



पहिलोपोस्ट

संविधान संशोधनबारे के छलफल भइरहेको छ, मलाई थाहा छैन : उपेन्द्र यादव

राजविराज (सप्तरी) : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन्।

सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा उनले जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुने बताए।
 
संविधान संशोधनबारे भइरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै अध्यक्ष यादवले मधेसी, आदिवासी, जनजाती लगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन हुने गरी संशोधन नगरिए संविधान संशोधन प्रस्ताव निरर्थक हुने दाबी गरे।
 
समानुपातिक, समावेसी, सीमाङ्कन, भाषिक अधिकारलगायत पहिचानसँग सम्बन्धित राष्ट्रिय सवाललाई सहमतिका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिँदै उनले नेपाली भाषा लादिएका कारण मातृभाषाको अस्तित्व सङ्कटमा परेकाले अब भाषिक विभेद्लाई अन्त्य गर्नुपर्ने भनाइ राखे।
 
देशमा बोलिने मातृभाषालाई सूचीकृत गरी त्यसको विकासका लागि राज्य गम्भीर हुनुपर्ने भन्दै उनले नागरिकताको विषयमा मधेस विरोधी दलले गलत ढङ्गले परिभाषित गरी आमजनतालाई भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप पनि लगाए।
 
‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो माग होइन,' उनले भने, 'वैवाहिक सम्बन्धका आधारमा दिइने नागरिकतामा विभेद हुनुहुँदैन र विवाह गरेर आएकी बुहारीलाई नागरिकताकै आधारमा गरिने विभेदलाई कुनै पनि हालतमा न्यायोचित मानिँदैन।’रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell