विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले ८ वर्षपछि भारतीय टेष्ट टीममा पुनरागमन गरेका छन्। पटेललाई विकेटकिपर ऋद्धिमन शाहको स्थानमा टीमम समावेश गरिएको हो।
चोटका कारण टेष्ट टीमका पहिलो रोजाइका विकेटकिपर शाहलाई विशाखापटनममा भएको इंगल्याण्ड विरुद्धको दोस्रो टेष्टमा चोट लागेपछि उनको स्थानमा पार्थिवलाई ल्याइएको हो।
इंगल्याण्ड विरुद्धको तेस्रो टेष्टका लागि टीम घोषणा गरिएको १५ घण्टापछि शाहको स्थानमा पार्थिवलाई समावेश गरिएको हो। तेस्रो टेष्टका लागि घोषणा गरिएको टीममा ओपनिङ ब्याट्सम्यान गौतम गम्भीरको स्थानमा बलर भुवनेश्वर कुमारलाई स्थान दिइएको थियो।
गम्भीर टीमबाट बाहिरिएसँगै भारतीय टीममा अब लोकेश राउल र मुरली वियज मात्र स्पेशियलिस्ट ओपनरका रुपमा रहनेछन्।
पार्थिव लेफ् ह्याण्ड ब्याट्समयान भएकै कारण अन्य दाबेदारलाई पछि पार्दै टीममा पर्न सफल भएको इएसपिएनक्रिकइन्फोले उल्लेख गरेको छ।
सन् २००२ मा १७ वर्ष १५३ दिनका दिन पार्थिवले नटिङहममा इंगल्याण्ड विरुद्ध नै टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए। त्यतिबेला उनी टेष्ट क्रिकेटकै सबैभनदा कम उमेरका विकेटकिपर थिए।
सन् २००८ देखि २००८ सम्म पार्थिवले भारतका लागि २० टेष्ट खेल्दै २९.६९ को औसतमा ६ सय ८३ रन बनाएका थिए। त्यसक्रममा उनले ४१ क्याच लिनुका साथै ८ स्टम्पिङ समेत गराएका थिए।
पार्थिवले पछिल्लो पटक सन् २००८ मा श्रीलंका विरुद्ध कोलोम्बोमा भारतीय टेष्ट टीममा खेलेका थिए।