PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

रंगशाला बनाउन प्रवासी नेपालीको अभियान, सामाजिक सञ्जालबाटै जुट्यो १० लाख



पहिलोपोस्ट

रत्ननगर (चितवन) : चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका बासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन अभियान सुरु गरेका छन्।
 
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो।
 
अभियानमा आजसम्म रु १० लाख सङ्कलन भएको अभियानका अन्तर्राष्ट्रिय संयोजक सापकोटाले जानकारी दिए। उनका अनुसार एक महिनासम्म सञ्चालन हुने सो अभियानका लागि विभिन्न देशमा संयोजक समेत तोकिएको छ। 
 
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा थालिएको अभियानमा सहयोग पुर्‍याउन अपिल गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए। रङ्गशालाका लागि आर्थिक रकम सङ्कलनपछि तुरुन्तै भरतपुरस्थित प्रदर्शनी केन्द्र निर्माणका लागि पनि अभियान चलाइने उनको भनाइ छ।
 
नेपाल सरकारको एक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान बनाउने अवधारणाअनुसार यहाँ निर्माण सुरु भएको खेलकुद मैदानका लागि करिब रु तीन करोड खर्च लाग्ने अनुमान छ।  
 
चित्रवन रङ्गशाला निर्माण समिति र चित्रवन युवा तथा खेलकुद विकास समितिले चित्रवन नगरपालिका–५ गौचरनमा १० बिगाहा क्षेत्रमा रङ्शाला शिलान्यास गरेर निर्माण थालेको हो।
 
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गङ्गा लामाले क्षेत्रीयस्तरको रङ्गशालाका लागि समितिमार्फत पनि सहयोग सङ्कलन भइरहेको बताएका छन्। यहाँ ९५ मिटरको प्याराफिट बनाइने छ। करिब तीन हजार दर्शक अट्ने गरी रङ्गशाला निर्माण थालिएको निर्माण समितिले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell