चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा चाड पर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ।
गत वर्ष केही महिना दिउँसो चार घण्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो। सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलव पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ।
'अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन,' खनालले भने। आयोजनाले निर्माण कम्पनीलाई गाडी रोक्दै गर्दा उपकरण र जनशक्ति बढाउनुपर्ने जनाउँदै आएको छ।
के कति उपकरण र जनशक्ति निर्माण गर्न सक्छ, सोही आधारमा स्थानीय प्रशासनसँग सहकार्य गरी बाटो चौडा बनाउन सवारी रोक्न आग्रह गरिने खनालको भनाइ छ।
सवारी नरोकी भित्तो काट्न भने असम्भव छ। सकेसम्म चाँडो भित्तो काट्नका लागि सवारी रोकिदिन निर्माण कम्पनीले दबाब दिँदै आएको छ। सो सडकखण्ड धुलाम्मे बनेपछि आयोजनाले फराकिलो बनिसकेका ठाउँमा कालोपत्रेको तयारी गर्न भनेको छ।
इञ्जिनियर खनालका अनुसार पुसको दोस्रो साताबाट सडकखण्डमा कालोपत्रे थालिँदै छ। सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउने लगायतका ठाउँमा अत्याधिक धुलो उड्नाले सवारी साधन, यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन्। सडकमा दैनिक तीन ट्याङ्करले पानी छर्केको भए पनि त्यो अपुग छ।
ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको हो। यसपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ। हालसम्म ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३० दशमलब पाँच प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो।
इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।रासस