
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मलेसियामा मृत्यु भएका पुनर्वास नगरपालिका चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव बिहीबार नेपाल ल्याइएको छ।
वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसिया पुगेका तामाङ मंसिर २ गते मृत्यु भएको थियो। मृतकका परिवारले शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेपछि प्रधानमन्त्रीले चासो राखेका थिए।
मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको पहलमा तामाङको शवलाई काठमाडौं ल्याइएको हो। यसका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो।
तामाङको शव बिहीबार नै गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरले जानकारी दिइन्।