
थिम्पु : भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ।
वातावरणीय प्रदुषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै भुटानले बङ्गलादेश, भुटान, भारत र नेपालको सहभागीता रहेको बिबिआइएन नामक दिइएको यो सम्झौता माथिल्लो सदनले अस्वीकृत गरेको हो।
भुटानको माथिल्लो सदनमा कुल २५ जना सांसदहरु मध्ये २० जना मात्र उक्त मतदानमा सहभागी रहेका छन्। ती मध्ये पनि दुई जनाले मात्रै सम्झौताको पक्षमा मतदान गरेका थिए, भने १३ जनाले विपक्षमा र पाँच जना भने कतै पनि मतदान गरेका थिएनन्।
चार देशका नेताले गत सन् २०१५ को जुनमा भुटानको राजधानी थिम्पुमा सो सम्झौतामा हस्ताक्षर गरेका थिए।
सबै देशले पारित गरेपछि मात्रै सम्झौता लागू हुने व्यवस्था रहेको छ। बङ्गलादेश, भारत र नेपालले यसअघि नै यस सम्झौतालाई अनुमोदन गरिसकेका थिए।
यदि यो सम्झौता पारित भएको भए, भुटानका नागरिक, यात्रुबहाक सवारी साधन र मालबहाक सवारी साधनहरु यी चारै देशमा आवतजावत गर्न पाउने थिए।
भुटानको स्थानीय बासिन्दा, ट्रक तथा ट्याक्सी चालक र आलोचकहरुले सरकारको यो सम्झौताको विरोध गर्दै आइरहेका छन्। रासस/सिन्ह्वा फोटो : oba.bt