पोखरा : मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करण आगामी माघ महिनाको पहिलो हप्ताबाट सुरु हुने भएको छ। साहारा क्लबको आयोजनामा हुने प्रतियोगिता पोखरा रङ्गशालामा हुनेछ।
प्रतियोगिता आयोजक सहारा क्लबका महासचिव केशबराज बरालले बुधबार एक विज्ञप्ति जारी गरी अखिल नेपाल फुटबल सङ्घ एन्फाबाट आयोजक सहारा क्लब पोखरालाई समय तालिका प्राप्त भएको जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी यसपटक पनि १२ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाइलको उपप्रायोजन एवम् पोखरा उपमहानगर पालिकाको संयोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्लगायतका सङ्घसंस्थाको विशेष सहयोग तथा अन्य विभिन्न संस्थाको सहयोग हुने विज्ञप्तिमा जनाइएको छ।
प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ।
एकेडेमीमा हाल तेस्रो ब्याचमा १६ जिल्लाका २८ जना बालक आश्रित छन्। विगत तीन वर्षदेखि उनीहरूको निःशुल्क शिक्षादिक्षा, स्वास्थ्यलगायत फुटबल प्रशिक्षण क्लबद्वारा निर्मित सुविधासम्पन्न आवासगृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट सञ्चालन हुँदै आएको छ। राससको सहयोगमा