काठमाडौँ : उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा अपूर्ण रहेको भन्दै संशोधनको माग गरेको छ।
शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेर समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावलीका अधिकांश विषयमा समर्थन रहे पनि केही कुरा त्रुटिपूर्ण रहेको हिसानको ठहर छ। हिसानले यहाँ बुधबार पत्रकारसम्मेलन गर्दै संशोधनका २२ बुँदा अघि सारेको छ।
हिसानले निजी र सामुदायिक विद्यालयका प्रकृति र सञ्चालन पद्धति फरक भएकाले छुट्टाछुट्टै शिक्षा नियामावलीको माग गरेको छ।
त्यस्तै, हाल सञ्चालित शून्य जोड दुई (जिरो प्लस टू) लाई साबिकबमोजिम ११ र १२ कक्षा सञ्चालन गर्न दिनुपर्ने माग छ। त्यसैगरी कक्षा १ देखि १२ सम्मको शिक्षा समानस्तरको नहुने भएकाले ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने हिसानको माग छ।
मस्यौदाअनुसार माध्यमिक तह भन्नाले कक्षा ९ देखि १२ सम्मलाई भनिएको तर कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राखिएकाले एकै तहमा दुई परीक्षा उत्तीर्ण गर्नुपर्ने हाँस्यास्पद भएको बताइएको छ।
साथै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा अनिवार्यरुपमा लिने व्यवस्था हुनुपर्ने, शिक्षासम्बन्धी सरोकारवाला समिति/उपसमितिमा हिसानका प्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने, कानुनबमोजिम योग्यता पुगेका शिक्षण संस्थालाई सम्बन्धन दिनुपर्नेलगायत माग हिसानको छ।
पत्रकारसम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले अहिलेको नियमावली दश जोड दुई (उच्चमावि तह) को शिक्षालाई नै सिध्याउने खेलअनुरुप आएको बताउँदै यस खेलका विरुद्ध आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए। उनले यसबारे आफूहरुसँगको छलफलद्वारा समाधान निकाल्न सम्बन्धित निकायलाई आग्रह गरे। रासस