PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

दुई दशकपछि सुदूरपश्चिमको दोस्रो ठूलो पाटन विमानस्थल पुनः सञ्चालनको तयारी



पहिलोपोस्ट

दुई दशकपछि सुदूरपश्चिमको दोस्रो ठूलो पाटन विमानस्थल पुनः सञ्चालनको तयारी

  • विनोदसिंह बिष्ट
बैतडी : सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ। पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो।
 
सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्नका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु भएको छ।

विमानस्थलको माटो परीक्षण लगायतका काम गरेर कालोपत्रका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार पारिने रियलपाथ इन्जिनियरिङ कन्सलटेन्सीका एयरपोर्ट इन्जिनियर गुरुदत्त घिमिरेले बताए।
 
उनले भने, 'एक हप्तासम्म पाटनमै बसेर प्राविधिक टोलीले डिपिआर, माटो परीक्षण लगायतका कार्य गर्छ र त्यसको आधारमा नागरिक उडड्यन प्राधिकरणलाई प्रतिवेदन बुझाउँछ।' विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको इन्जिनियर घिमिरेको भनाइ रहेको छ। उनले भने, 'बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन विमानस्थल क्षेत्रीय विमानस्थलका रुपमा विकसित हुने देखिएको छ, वातावरण पनि राम्रो छ।'
 
अहिले प्राविधिकको टोलीले डिपिआर निर्माणका लागि अध्ययन गरिरहेको र डिपिआर निर्माण गरिसकेपछि विमानस्थल पुनः सञ्चालन गर्नका लागि कति लागत लाग्छ भन्ने कुरा थाहा हुने बताइएको छ। विमानस्थल सञ्चालन गर्नका लागि विमानस्थल आसपासमा ठूला संरचना बन्न नहुने र त्यसको समेत प्राविधिक टोलीले अध्ययन गर्ने इन्जिनियर घिमिरेले बताए।

प्राविधिक टोलीको प्रतिवेदनका आधारमा टेन्डर आह्वान गरेर यो आर्थिक वर्षभित्र काम सुरु गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेलले बताए। 'विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन पाँच वर्षभन्दा बढी समय लाग्न सक्छ।'
 
पाटन विमानस्थल सञ्चालन भएमा सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाको मध्यविन्दुका रुपमा यो क्षेत्रलाई विकास गर्न सकिने स्थानीयवासीको भनाइ छ। सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालन हुन नसक्दा गौचरन तथा खेलमैदानमा परिणत भएको थियो।
 
विगत दुई दशकदेखि विमानस्थल सञ्चालन नहुँदा गौचरनमा परिणत भएको छ। विसं २०३४ मा सञ्चालनमा आएको विमानस्थल २०५२ सालदेखि पूर्णरुपमा वन्द अवस्थामा रहेको छ। सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो। नौसय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो।
 
बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल सञ्चालनमा आउन सके यस क्षेत्रको विकास हुने स्थानीय वसन्त विष्टको भनाइ रहेको छ। यस विमानस्थलका कार्यालयका भवन तत्कालीन १२ बर्षे द्वन्द्वकालमा क्षतविक्षत भएका थिए।
 
पर्यटकीय गन्तव्य बनाउन सकिने
नेपाल सरकारले घोषणा गरेको दश नमुना सहरमध्येको एक सहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुनसके बैतडीलाई पर्यटकीय गन्तव्य बनाउन सकिनेछ।
 
पर्यटकीय आकर्षणको मुख्य केन्द्रविन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धाम लगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ।
 
विमानस्थललाई सञ्चालन गर्नसके बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ छ।
 
विमानस्थल पुनः सञ्चालनमा ल्याउन सक्ने हो भने ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ, उनले भने, 'व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ।'
 
दार्चुला, डडेल्धुरा र बझाङका लागि समेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताए।
 
दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउन समेत बैतडीको पाटन विमानस्थल सञ्चालन गर्नु आवश्यक रहेको उनको भनाइ छ। त्यसैगरी, भारतसँग सीमा जोडिएको जिल्ला भएकाले व्यापारसमेत फस्टाउने देखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell