
वीरगन्ज : योगगुरु बाबा रामदेवले पतञ्जली ब्राण्डका जिन्स पाइन्टदेखि कुर्तासम्म उत्पादन थाल्ने जानकारी दिएका छन्। योग विज्ञान शिविर र पतञ्जली उद्योगको उद्घाटन गर्न वीरगन्ज आएका रामदेवले पतञ्जली ब्राण्डका जिन्स, टोपी, कुर्ता र पैजामा उत्पादन गरेर बजारमा ल्याउने जानकारी दिएका हुन्।
उनले पतञ्जलीका तयारी पोसाकले शरीरलार्इ फाइदा हुने र सात्विक पहिरनको रुपमा लगाउन सकिने दाबी गरे। भारतमा दर्ता भएको पतन्जलीको टर्न ओभर नै ५ हजार करोड छ।
सन् २०१७ सम्ममा यो १० हजार करोड हुने अपेक्षा गरिएको छ। पतञ्जलीले अहिले खाद्य सामाग्री र सौन्दर्य प्रशाधनका सामग्री उत्पादन गर्दै आएको छ। रामदेवले तयारी पोसाकबाहेक इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन थाल्ने जानकारी दिए।
नेपालको भारु साट्न पहल गर्ने
योगगुरु रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताएका छन्। भारतले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ।उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन, भ्रष्टाचार र जालीनोट नियन्त्रणका लागि थालेको कदम ऐतिहासिक भएको बताउँदै रामदेवले अल्पकालीन रुपमा केही समस्या भए पनि दीर्घकालीन रुपमा अर्थतन्त्रलार्इ बलियो बनाउने बताए।