PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

फोरम नेता गच्छदार भन्छन्- 'ठूला दल आफ्नै निर्णयमा टिक्न नसक्दा समस्या'



पहिलोपोस्ट

फोरम नेता गच्छदार भन्छन्- 'ठूला दल आफ्नै निर्णयमा टिक्न नसक्दा समस्या'

विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा मात्रै संविधान संशोधन प्रस्ताव आउनुपर्ने बताएका छन्।
 
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले संशोधन प्रस्तावका विषयमा विरोधाभास देखिएकाले प्रमुख तीन दलको सहमतिले मात्रै भ्रम चिर्न सक्ने बताए।
 
'मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेकाले संशोधन प्रस्तावमा विरोधाभास देखिएको हो,'  उनले भने। प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने र त्यसो नगरिए समस्या समाधान नहुने उनको भनाइ छ।
 
'संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता होओस् अनिमात्र हाम्रो पार्टीको आधिकारिक धारणा आउँछ,' उनले भने।
 
ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने बताउँदै नेता गच्छदारले आफैँ जिल्ला टुक्र्याउने र जोड्ने खेलमा लागेको आरोप लगाए। 'कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, कहिले पुरानै संरचना ठlक, कहिले बेठिक भन्ने, यस्तो पनि हुन्छ?' उनले प्रश्न गरे।
 
विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताउँदै उनले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनताबीच जनमत सङ्ग्रह गराउनुपर्ने बताए। कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको अभिमत समेत लिनुपर्नेमा उनले जोड दिएका छन्।
 
मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गरेको उनले आरोप लगाए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell