- सरिता पौडेल
जिल्ला महिला समन्वय समिति जिल्ला विकास समिति चितवनको आयोजनामा बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी १६ दिनभरि गरिने कार्यक्रमबारे जानकारी दिइएको हो। अभियान अन्तर्गत १६ दिन नै नयाँ संविधानमा महिलाका सवालहरु, जनचेतनामूलक नाटक, गोष्ठी, अन्तरक्रिया, र्याली, घरदैलो, घुम्ती परामर्श, पर्चा वितरण, विद्यालय र कलेज स्तरीय अनुशिक्षण, जोडी छलफल, राजनीतिक दलहरुसँगको प्रतिबद्धता, स्वास्थ शिविर लगायतका कार्यक्रमहरु गरिनेछन्।
चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेलले अभियानको अवसरमा गरिने कार्यक्रमलाई सफल बनाउन जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महिला तथा बालबालिकामाथि भएका अपराधको तथ्यांक प्रस्तुत गर्दै महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलले सबैभन्दा बढी घरेलु हिंसाको घटना दर्ता भएको जानकारी गराइन्।
प्रहरी प्रधान कार्यालयलाई उद्धृत गर्दै दिइएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/०७२ मा जबरजस्ती करणीमा ९८१, जबरजस्ती करणी उद्योग ५६२, मानव बेचबिखन १८४, गर्भपतन १७, बहुविवाह ५१८, बालविवाह २३ र घरेलु हिंसाबाट ८ हजार २६८ महिला पीडित भएका छन्।
यस्तै चितवन जिल्ला प्रहरीको तथ्याकंमा ०७० देखि ०७३ सम्म जबरजस्ती करणीबाट ३३, बहुविवाह २८, घरेलु हिंसाबाट ७१८ महिला पीडित भएको उल्लेख छ।
'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज' भन्ने नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस विश्वव्यापी मनाइँदै छ।
सन् १९६० नोभेम्बर २५ का दिन डोमेनिकन रिपब्लिकन सम्बद्ध तीन साहसी महिला दिदीबहिनीको तत्कालीन तानाशाह सरकारले कायरतापूर्वक हत्या गरेपछि १९९१ मा २० वटा देशका २३ महिलाको समुहले महिला हिँसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरेका हुन्। १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने घोषणा गरेपछि यो दिवस विश्वभर मनाइन्छ।