PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

छोरीको प्रशंसा गर्दै सुनील शेट्टीले भने- 'बलिउडमा स्थापित हुन पुरुष कलाकारले पनि शोषण सहनुपर्छ'



पहिलोपोस्ट

छोरीको प्रशंसा गर्दै सुनील शेट्टीले भने- 'बलिउडमा स्थापित हुन पुरुष कलाकारले पनि शोषण सहनुपर्छ'

बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अथिया शेट्टी पनि बलिउडमै आफ्नो करिअर बनाउने होडमा लागिपरेकी छिन्। सुनिलले संघर्षरत छोरीलाई आफ्नो 'ताकत'को संज्ञा दिएका छन्।
 
बिबिसी हिन्दीसँग कुरा गर्दै उनले भने, 'मलाई लाग्छ, कुनै मान्छेलाई जिन्दगीमा तीन महिलाले अगाडि बढ्न मद्दत गर्छन्- आमा, पत्नी र छोरी। हामीले जीवनमा यी तीन नारीको सम्मान गर्न नसके हाम्रो पनि सम्मान रहँदैन।'
 
आफ्नी आमाले आफूलाई संघर्ष गर्न सक्ने बनाएको, पत्नीले संघर्षमा साथ दिएको र छोरीले जिन्दगीलाई गम्भीर रुपमा हेर्न सिकाएको बताउँछन् सुनिल। 'म बूढो हुँदै छु। र, ढल्किदो उमेरसँगै मेरी छोरी मेरो ताकत बन्दै छे,' उनले भनेका छन्।
 
उनले बिबिसी टप १० महिलाहरुको उदाहरण दिँदै महिलाहरु हरेक क्षेत्रमा उत्तिकै उत्कृष्ट ठहरिन सक्ने दाबी गरे। भने, 'महिलाहरु हरेक कामको लायक हुन्छन्। पुरुष नारीबिना अधुरो रहन्छ। तर महिला आफैंमा पूर्ण हुन्छे।'
 
छोरी अथियाको पहिलो फिल्म 'हिरो' फ्लप भए पनि सुनिल छोरीको क्षमताबाट आशावादी छन्। 'फिल्म नचलेकोमा दु:खी छु तर छोरीले हिम्मत नहारेकोमा त्योभन्दा बढी खुसी छु,' सुनीलले भने।
 
छोरीको करिअरसँग आफ्नो सुरुवाती दिनको पनि उनले तुलना गरेका छन्। आफूले  सुरुवाती केही फिल्मले दिलाएको आलोचनाको सामना गरेको र त्यसैका कारण मात्र नयाँ कुरा सिकेको उनको भनाइ छ।
 
सुनिलले बलिउडमा स्थापित हुन भने महिला मात्र होइन पुरुष कलाकारले पनि शोषण सहनुपर्ने बताए। जसलाई फिल्मी भाषामा 'कास्टिङ काउच' भनिन्छ। 'यस्तो किसिमका शोषण रोक्नलाई एउटा कास्टिङ एजेन्सी खोल्ने मन छ,' उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell