पर्वत : पर्वत साहित्य सङ्गमले साहित्य-संस्कृतिका पाँच वटा पुरस्कार घोषणा गरेको छ।
संस्थाको निर्णयअनुसार बागलुङको नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, म्याग्दी बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ र पर्वत लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतीक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको हो। यी सबै पुरस्कारको राशि जनही १० हजार नगद रहेको छ।
यसैगरी ‘नमुना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वतको शङ्करपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैसी ‘अभागी’लाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वतकै कुश्मा नगरपालिका पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरिने निर्णय भएको संस्थाका अध्यक्ष राजेन्द्र पहाडीले बताए। यी दुवै पुरस्कारको राशि जनही ५ हजार नगद छ।
नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली वाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पुर्याउने स्रष्टालाई प्रदान गर्ने गरी स्थापना गरिएको पुरस्कार यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे–हुर्केर योगदान पुर्याएका व्यक्तिलाई प्रदान गर्ने निर्णय भएको हो।
साहित्य सङ्गमको आन्तरिक स्रोतबाट रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डिआर शर्माले रु ५० हजार राशिको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरिएको हो।
कुश्मामा रहेको नमुना आवासीय माध्यमिक विद्यालयले रु २५ हजार राशिको अक्षयकोष स्थापना गरी ‘नमुना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशील थकाली ‘अनुरागी’ले रु १० हजार राशिको अक्षयकोष राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरिएको हो। यी पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिनेछ।