PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कमल थापाले एमालेलाई सम्झाए संविधान संशोधनको औचित्य, भन्छन्- 'मधेसवादी पनि अतिवादी'



रमेश वाग्ले

कमल थापाले एमालेलाई सम्झाए संविधान संशोधनको औचित्य, भन्छन्- 'मधेसवादी पनि अतिवादी'

काठमाडौं : संविधानका विषयमा विमति राखेर आन्दोलनमा गएको मधेसी मोर्चा अहिले सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी छैन। उसले वर्तमान सरकारलाई संविधान संशोधन गर्ने सर्तमा सहयोग गरेको हो। तर दुई तिहाइबाट संविधान संशोधन हुने भएकाले एमालेको समर्थन खोजिरहेका बेला एमालेले भने संविधान संशोधनको औचित्य सोधिरहेको छ। एमालेले आफ्ना भ्रातृ संगठन अनेरास्ववियुमार्फत देशव्यापी आन्दोलनको घोषणा समेत गरिसकेको छ।
 
एमालेले मागेको औचित्य सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रदेखि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले दिन नसकिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले संविधान संशोधनको औचित्य सम्झाएका छन्।
 
राप्रपा र राप्रपा नेपालको एकीकरणपछिको पहिलो केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न राखेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रधानमन्त्री केपी ओली भएकै समयमा संविधान संशोधनको तयारी भएको भन्दै त्यही औचित्यका आधारमा संविधान संशोधन हुने बताए। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका थापाले त्यति बेला सीमांकन हेरफेरसहितको संशोधन प्रस्तावले संविधान संशोधन गर्ने विषयमा राजनीतिक सहमति भएको र आफूले त्यसको म्यान्डेड पनि पाएको स्मरण गराए।
 
'त्यति बेला सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव ल्याउने विषयमा आम सहमति भएको थियो, त्यसकै आधारमा तत्कालीन प्रधानमन्त्री ओलीले मेरै संयोजकत्वमा राजनीतिक समिति गठन भएको थियो,' थापाले भने, 'तर, दुर्भाग्य नै भन्नुपर्छ मधेसी दलका साथीहरुले आफ्नो प्रतिनिधि दिनुभएन, कांग्रेस र माओवादीले पनि प्रतिनिधि पठाएनन् र त्यो प्रयास असफल भयो।' उनले हिजो आफूले गर्दा ठिक हुने संविधान संशोधन अरुको नेतृत्वमा गर्दा अर्को औचित्य खोज्नु नहुने बताए।
 
'मैले उहाँहरुकै कार्यक्रममा ओलीजीलाई संविधानको संशोधनको औचित्य प्रस्ट्याएको छु,' थापाले भने, 'उहाँहरुले त्यस्तै गैरराजनीतिक कदम उठाउनुहुन्छ भन्ने मलाई लाग्दैन।' 
 

'एमाले र मधेसवादी दुवै अतिवादी'

अध्यक्ष थापाले हिजो सीमामा धर्ना दिएर बन्धक बनाउनेहरु र संविधान संशोधन गरे आन्दोलन गर्छु भनेर चलाउँनै हुदैन भन्नेहरु दुवै अतिवादी भएको बताए।
 
'सीमामा धर्ना दिएर नाकाबन्दी गरी देशलाई नै अप्ठेरो पार्ने र आज संविधानलाई छुनै हुँदैन संशोधन गरे देशव्यापी आन्दोलन गर्छु भन्ने अतिवादी हुन्,' थापाले भने, 'कुनै पनि अतिवादले देशको हित गर्दैन।'
 
उनले एमालेलाई संविधान संशोधनका विषयमा विमति रहे संशोधनको विपक्षमा मतदान गर्ने अधिकार सुरक्षित रहेको भन्दै छुनै हुँदैन भनेर देशव्यापी आन्दोलन गर्छु भन्नु गलत भएको बताए। उनले मधेसीका माग सम्बोधन अहिलेको आवश्यकता भएको भन्दै त्यसो नगरे देश अप्ठेरोमा पर्ने बताए।
 
'०७४ साल माघ ८ भित्र सबै तहका चुनाव गरिनसके प्राप्त उपलब्धि गुम्न सक्छन्,' अध्यक्ष थापाले भने, 'मधेसीलाई विश्वासमा लिन सकिएन भने चुनावमा जान असम्भव त नभनौं एकदमै जटिल अवस्था हुन सक्छ।'
 
थापाले एमालेलाई जिम्मेवार राजनीतिक दलकै भूमिका निर्वाह गर्न आग्रह गर्दै देशलाई अप्ठेरो बाटोमा नपुर्‍याउन आग्रह पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell