लिभरपुल तथा इंगल्याण्डका पूर्व कप्तान स्टेभेन जेरार्डले १९ वर्षे फुटबल खेलाडी करियरबाट सन्यासको घोषणा गरेका छन्।
३६ वर्षीय जेरार्डले लिभरपुलका लागि ७१० गेम खेल्दै ८ मुख्य ट्रफी जितेका छन्। गत वर्ष लिभरपुल छाड्दै जेरार्ड एमएलएस क्लब एलए ग्यालेक्सी गएका थिए।
मिडफिल्डर जेरार्ड इंगल्याण्डका लागि चौथो सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। इंगल्याण्डका लागि उनले ११४ क्याप जितेका छन्।
इंगल्याण्डको तर्फबाट आफुले खेलेको ६ मुख्य टुर्नामेन्ट मध्ये जेरार्डले तीनवटामा कप्तानी गरेका थिए।
एलए ग्यालेक्सी छाड्ने निश्चित भएसँगै जेरार्ड इंगलिस लिग वन क्लब एमकेडन्सको प्रशिक्षक बन्ने चर्चा सुरु भएको थियो।
जेरार्डले सन् २००० मा युक्रेन विरुद्ध इंगल्याण्डको लागि डेब्यु गरेका थिए भने २००२ को विश्वकप छनोटमा जर्मनी विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
३८ खेलमा इंग्ल्याण्डको कप्तनी गरेका जेरार्ड सर्वाधिक कप्तानी गर्ने पाँचौ खेलाडी समेत हुन्। यस्तै प्रिमियर लिगमा सर्वाधिक असिस्ट गर्ने छैटौ खेलाडी हुन्।