PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सरकार र मधेसकेन्द्रित दललाई ओलीका १० आरोप



सविन ढकाल

सरकार र मधेसकेन्द्रित दललाई ओलीका १० आरोप

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विचार गोष्ठीमा अहिलेको सरकार तथा मधेशी दलका नेताहरुलाई विभिन्न दश आरोप लगाए।

१. अहिले संविधान सशोधनको चर्चा देशको संक्रमणकाल हटाउन भन्दा पनि विवाद बढाउन भइरहेको छ। संविधान कार्यान्वयन र विभिन्न तहको चुनाव गराउनु पर्ने बेला चुनावको लागि कुनै पनि तयारी नगरी संशोधनको विषयमा नै विवाद तन्काइरहेको छ। 

२. देशलाई टुक्राउने विखण्डनकारी तत्व अहिले सक्रिय रहेको छ। देशलाई विभिन्न जात, भाषा, भूगोल, धर्मको नाम लिएर देशलाई टुक्राउने काम भएको छ। विखण्डनकारीले देशलाई काङ्क्रो चिरा पारे जस्तै चिरा-चिरा पार्न खोजेका छन्। 

३. अहिलेको सरकार काम भन्दा पनि कुरो गर्न मात्र लागेको छ। सरकार तास फिटे झै कुरा फिट्न थालेको छ।  

४.नेकपा एमाले तराईविरोधी भन्दै भ्रम छर्ने खेल भइरहेको छ। एमाले तराई विराधी होइन। अहिलेको बजेटमा मैले तराईलाई विशेष महत्व दिएको र बजेट त्यही अनुसारको ल्याएको हुँ। आफूलाई मधेशी जनताको नेता भन्नेहरुले तराईका लागि सिन्को समेत सारेको छैन। 

५. अहिले प्रचण्ड नेतृत्वको सरकार एमाले नेतृत्व सरकाले ल्याएको बजेट फेल गराउन पूरक बजेट ल्याउने तयारीमा रहेको छ। म तोकेर नै भन्छु केही समयमा अहिलेको सरकारले पूरक बजेट ल्याउँदैछ। 

६. अहिलेको सरकार विदेशीको स्वार्थ पूरा गर्न लागेको छ। देशलाई घातक हुने किसिमको उद्देश्य पूर्ति गर्न सरकार कम्मर कसेर लागेको छ।  

७. अहिलेको सरकारले आफ्नो घातक उद्देश्यसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराई छाड्ने भएकाले त्यसको लागि तयार रहनुस्। एमाले पनि संसदमा छ प्रधानमन्त्री ज्यू।

८. प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा फेर्ने गरेका छन्। मलाई भेट्दा एउटा कुरा गर्ने बाहिर अर्को कुरा। अब म प्रधानमन्त्रीलाई एक्लै भेट्दिनँ। आज पनि भेट्दैछु, साथी लिएर जान्छु। 

९.एमालेले नभएर मधेशी दलले नै तराईमा आन्दोलनमा मारिएका मानिसको अपमान गरेको  छ। तराई आन्दोलनको क्रममा जो प्रधानमन्त्री हुँदा (सुशील कोइराला) तराईमा मानिस मारिए त्यही व्यक्तिका लागि मधेशी दल संसदमा भोट हाल्न पुगेको थियो। मधेशमा मारिएकाका व्यक्तिलाई बोटबाट एक दुई वटा आँप झरेर गए केही हुँदैन भनेको होइन। त्यो अर्कै सन्दर्भमा भनेको थिएँ। 

१०. मैले गणतन्त्रको लागि आन्दोलन गर्दा र जेलमा पुग्दा दरवारको टाट्नुमा मुन्टा चुड्ने केही व्यक्तिहरुले अहिले मलाई गणतन्त्रको पाठ पढाएको मलाई मान्य हुँदैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell