काठमाडौं : डेढ वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यलार्इ भेट्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको छ। सुरुवातमा क्षेत्रीय विमानस्थलको अवधारणा अनुसार अघि बढेको यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय विमानस्थलकै रुपमा अघि बढाउँदै कामलार्इ तीव्रता दिइएको हो।
विमानस्थलका लागि आवश्यक थप ५ सय बिघा जग्गा अधिग्रहणका लागि बिहीबार सूचना प्रकाशित भइसकेको छ। विस्तारित गौतम बुद्ध विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा डेढ गुणा ठूलो हुनेछ।
सुरुवातमा २ सय ८७ बिघा जग्गामा विमानस्थल निर्माण गरिएको थियो। तर यो विमानस्थललार्इ अन्तर्राष्ट्रिय स्तरमै रुपान्तरण गर्ने योजनासहित थप ५ सय बिघा जग्गा किन्ने निर्णय गरिएको हो।
अब यो विमानस्थलको क्षेत्रफल ७ सय ८७ बिघा हुनेछ। विमानस्थलको क्षमता वृद्धि गर्नका लागि थप जग्गा लिनुपरेको आयोजना प्रमुख ओम शर्माले बताए। उनका अनुसार अधिग्रहण हुने जग्गा ४ सय २८ बिघा व्यक्तिको र सरकारी जग्गा ७२ बिघा छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ३५ दिने सूचना निकाल्दै विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने जनाएको छ।
जग्गा अधिग्रहण हुँदा ५ सय बिघा क्षेत्रफलमा ४ सय ७० वटा घरटहरा समेत पर्ने भएका छन्। आयोजनाले एक वर्षभित्र घरटहरा तथा बाली उठाउन आग्रह गरेको छ। थप गर्ने जग्गामा पक्की वाटो पोखरी तथा गाग्राखोलाको केही भाग पर्नेछ। थप जग्गा प्राप्तिका लागि मुआब्जाका बारेमा अध्ययन भइसकेको र केही दिनमा टुङ्गो लाग्ने शर्माले बताए।
लागत बढेर १५ अर्ब पुग्ने
यो विमानस्थल सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चिनियाँ कम्पनीले ठेक्का लिएको थियो। परियोजना सम्पन्न हुँदासम्म लागत करिब ९ अर्ब पुग्ने अनुमान गरिएको थियो।तर जग्गा अधिग्रहणका लागि आवश्यक मुआब्जाले आयोजनाको लागत अब १५ अर्ब पुग्दै छ।
कति भयो काम?
विमानस्थलको निर्माण र विस्तारको काम २६ प्रतिशत सकिएको छ। आयोजनाको कच्ची रनवे तयार भइसकेको हो। चालू आर्थिक वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताए। रनवे निर्माण लगायत सबै काम समान गतिमा अघि बढाइएको उनले जानकारी दिए।रनवे निर्माण क्षेत्रमा पर्ने घाग्रो खोलालाई साढे २ किलोमिटर लम्बाइ र ३३ मिटर चौडा च्यानलको डाइभर्सन बनाइएको छ। ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको विमानस्थलको रनवेमा कच्ची अर्थर सवगार्ड तयार भएको छ।
अब त्यसमाथि दुई तहको 'रिभरमेड मेटेरियल' राखेपछि यो चरणको दुई तिहाइ काम सकिने शर्माले जानकारी दिए। त्यसपछि रनवेमा 'सब बेस र बेस'को काम सुरु हुनेछ।
कच्ची अर्थर सवगार्ड बनेसँगै अब जहाजलाई आपतकालीन अवतरण गर्न सकिने भएको छ। १५ हजार वर्ग मिटर क्षेत्रफलमा बनिरहेको अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम पनि २५ प्रतिशत सकिएको शर्माको भनाइ छ। त्यससँगै विमानस्थलको प्रशासकीय भवन र एयरपोर्ट कन्ट्रोल टावरको काम जमिनको सतहसम्म (प्लिन्थ लेभल) आइपुगेको छ। 'बेसमेन्ट' सहित तीनतले यो भवन नजिकै ३२ मिटर अग्लो टावरको काम अघि बढेको छ।
काम यही गतिमा भए अबको करिब डेढ वर्षपछि विस्तारित विमानस्थल सञ्चालनमा आउनेछ। यहाँबाट क्षेत्रीय स्तरको उडान हुनेछ। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप त घटाउने नै छ, लुम्बिनीमा धार्मिक पर्यटक बढाउन पनि ठूलो भूमिका निभाउने सरकारी अधिकारीको विश्वास छ।
प्रशासकीय भवन नजिकै विमानस्थलको महत्वपूर्ण अंगको रुपमा रहने 'फायर फाइटर'को भवनसमेत निर्माण सुरु भएको छ। एम्बुलेन्स, दमकल सहित सय जना फायर फाइटर यो भनवमा बस्नेछन्।
एयरपोर्ट वरिपरि सुरक्षाका लागि तारबार गर्ने काम पनि सुरु भएको शर्माले जानकारी दिए। विमानस्थल वरिपरिको ७ किलोमिटर क्षेत्रमा सडक बनाउने काम पनि सुचारु भएको छ।
पछिल्लो चरणमा विकास भइरहेको प्रविधिमा आधारित यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग क्षमतामा बराबर र त्योभन्दा सुविधासम्पन्न हुने शर्माको भनाइ छ। त्रिभुवन विमानस्थलमा बेलाबखत मौसमका कारण विमान अवतरण र उडानमा समस्या हुने गरे पनि भैरहवामा हुनेछैन।