PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

चितुवा मार्न गएको प्रहरी टोली चितुवा नै नभेेटेपछि तीन महिना गाउँ बसेर फर्कियो



पहिलोपोस्ट

बैतडी : नरभक्षी चितुवाले मानवबस्ती पसेर आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फर्किएको छ।
 
तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो।
 
भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटिएको हो।
 
प्रभावित क्षेत्रमा खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरे पनि चितुवा नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए।
 
छ महिनाका लागि प्रहरी टोली प्रभावित क्षेत्रमा खटाइएको भए पनि उदयदेव गाविस कार्यालयले हिउँदमा चितुवा मानव बस्ती नपस्ने तथा नदेखिने भनेकाले टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बलले बताए। यसअघि गत महिना चितुवा देखा परेर एक राउन्ड गोली फायरिङ गरेको भए पनि चितुवालाई नलागी भागेको समेत उनले जानकारी दिए।
 
दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५ जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ।
 
यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भए पनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो।
 
उदयदेव, बिशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell