काठमाडौं : मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरीको सीतापुर–३ घर भएका ३० वर्षीय फारुक मियाँको मृत्यु भएको हो।
राति पौने १० बजे भएको दुर्घटनापछि गम्भीर घाइते भएका मियाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिए।
ठक्कर दिने ट्रयाक्टरसहित त्यसका चालक फरार छन्।
यस्तै, पोखरा उपमहानगरपालिकाको तेर्सापट्टिस्थित सडकमा ट्रकको ठक्करवाट रिक्सा चालकको मृत्यु भएको छ।
ग १ क ७७२ नंको ट्रकले इलेक्ट्रिक रिक्सालाई ठक्कर दिँदा चालक पोखरा–२६ पिपलडाली निवासी ४० वर्षीय नारायण सुवेदीको मृत्यु भएको हो। उपचारका क्रममा उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए। ट्रक चालक तारानाथ बास्तोलालाई नियन्त्रणमा लिइएको छ।
दाङको सिसहनिया-७ मा पनि अर्को सवारी दुर्घटना भएको छ। गएराति सवा ९ बजे ना १ क ४१३२ नम्बरको ट्रकको ठक्करबाट दाङ भगवानपुर-९ वस्ने ४१ वर्षीय खुसीराम चौधरी घाइते भएका हुन्। उनको बुटवलमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।