- कृष्ण दर्नाल
गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो।
बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु नै भएको बताएका छन्। बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीले शव व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई जिम्मा लगाएको थियो। आफन्तबाट शवको खोजी हुन नसक्दा तानसेन नगरपालिकाले कात्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेको हो।
पुलामी दसैंपछि बेपत्ता बन्दै आए पनि श्रीमान र घरपरिवारले उनको खोजीमा सक्रियता देखाएको थिएन। जिल्ला शिक्षा कार्यालय, पाल्पामा प्राविधिकका रुपमा कार्यरत पुलामीका श्रीमान दीपेन्द्र बस्याल सोमबारदेखि फरार अवस्थामा रहेका छन्। बस्यालले अर्की प्रेमिका लिएर भारततिर भागेका हुन्। २०६९ सालमा पुलामी र बस्यालबीच अन्तरजातीय प्रेमविवाह भएको आफन्त बताउँछन्।
गत चैतदेखि पुलामी र बस्यालबीच सम्बन्ध राम्रो नभएको खुलेको छ। महिला तथा बालबालिका कार्यालयमा भदौ ३१ गते पुलामीले आफू अन्यायमा परेको भन्दै मौखिक निवेदन दिएको निमित्त कार्यालय प्रमुख सुष्मा रेग्मीले जानकारी दिइन्।
पुलामीले महिला तथा बालबालिका कार्यालयमा शारीरिक र मानसिक यातना भोग्न बाध्य भएको कार्यालयलाई जानकारी गराएपछि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जान अनुरोध गरेको जनाएको हो। बस्यालले पुलामीलार्ई पटकपटक मानसिक तथा शारीरिक यातना दिँदै आएको पुलामीका बुबा नरबहादुरको दाबी छ।
माइती पक्षले उनको हत्या गरी फालिएको किटानी जाहेरीमा उल्लेख छ। जाहेरीमा विनुका श्रीमान ताहुँ–७ का दीपेन्द्र बस्याल, दीपेन्द्रका बुबा र आमालाई विपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बस्यालका बुबाआमा शिक्षक–शिक्षिका हुन्।
गाडेको शव निकालेर अनुसन्धान
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रमेशराज भेटवालको नेतृत्वमा गएको प्रहरीले गाडेको लास निकालेर अनुसन्धान थालेको छ। प्रहरीले गाडेको लास पुलामी मगरको हो वा होइन भन्ने बारेमा बुझ्नका लागि लासको दाँत र खुट्टाको हड्डी निकालेर डिएनए परीक्षणका लागि जिल्लामा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ।एक महिनापछि दाहसंस्कार
माइती पक्षले गाडेको शव विनुकै भएको भन्दै दाहसंकार गरेका छन्। बुबा नरबहादुरले छोरी पुलामीको शवलाई दागबत्ती दिएका हुन्। पुलामी दसैंपछि माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन्। कात्तिक ४ गते राम्दी नदीको किनारामा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो। शवको सनाखत हुन नसक्दा कात्तिक ८ गते राम्दीमा लास गाडिएको थियो।प्रहरीले पुलामीको शव माइती पक्षलाई बुझाएको छ। शव बुझाएर दाहसंस्कार गर्ने बेलासम्म बस्यालका घरपरिवार पुगेनन्।
पुलामीका श्रीमान बस्यालले पुलामीको फेसबुकबाट माइती पक्षसँग कुराकानी गर्दै आएका छन्। दसैंपछि विनु माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् तर फेसबुकबाट दीपेन्द्रले पुलामी बनेर कुराकानी गर्दै आएको माइती पक्षको भनाइ छ।
पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले माइतीपक्षको जाहेरीका आधारमा अनुसन्धान जारी राखेको बताए।रासस