
काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो हप्ता नेपाली फिल्म 'पुरानो ढुङ्गा' सार्वजनिक भएको छ। पुराना दुई फिल्म 'जात्रा' र 'छक्का पञ्जा'ले हल नछोड्दै पुरानो ढुङ्गा प्रदर्शनमा उत्रिएको हो।
सिंगल रिलिजको मौका छोप्दै सार्वजनिक भएको पुरानो ढुङ्गाको बुधबार प्रिमियर गरिएको थियो। रामबाबु गुरुङ निर्देशित फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, माओत्से गुरुङ र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ।
पोखरामा छायांकन गरिएको फिल्ममा डुङ्गाका कारण दुई दाजुभाइबीच हुने विवाद र विवादले निम्त्याउने अवस्था देखाइएको छ।
त्यस्तै बलिउडतर्फ पनि 'डियर जिन्दगी'ले नेपालका लागि सिंगल रिलिज पायो। गौरी सिंदे निर्देशित फिल्ममा शाहरुख खान र आलिया भट्टको मुख्य भूमिका रहेको छ।
फिल्मलाई करण जोहार, गौरी खान र गौरी सिंदेले संयुक्त रुपमा निर्माण गरेका हुन्।
फिल्ममा शाहरुख खानले आलिया भट्टको लाइफ कोचको भूमिका निर्वाह गरेका छन्। यी दुवै फिल्मले मल्टिप्लेक्स र सिंगल थियटरमा हल पाएका छन्।