पर्सा : स्वचालित पेस्तोल, विस्फोटक पदार्थ र लागुऔषध लगायत विभिन्न अवैध सामग्रीसहित एक भारतीय नागरिक वीरगन्जबाट पक्राउ परेका छन्।
भारत बिहार घर भई वीरगन्ज–१५ बस्ने ३७ वर्षीय मोहम्मद समिम अख्तरलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट स्वचालित पेस्तोल एक थान, सोको खाली म्यागजिन दुई थान, गोली १८ राउण्ड तथा लागुऔषध खैरो हिरोइन १९ ग्राम र स्पास्मो प्रोक्सिभोन क्याप्सुल १६ वटा बरामद गरिएको छ।
यी सामग्री बरामदपछि थप खोजतलास गर्दा उनको कोठाबाट कटुवा पेस्तोल एक थान, गोली पाँच राउण्ड, विभिन्न नम्बरका नेपाली तथा भारतीय सिमकार्ड १४ थान, विभिन्न कम्पनीका मोबाईल छ थान प्रहरीले फेला पारेको छ।
यस्तै भारत सरकारको खाली सवारी साधनको ब्लुबुक चार थान, छुटाछुट्टै नामको एकै ब्यक्तिको फोटो टाँसेको भारतीय निर्वाचन आयोगको पहिचान पत्र तीन थान, भारतीय स्मार्ट लाइसेन्स एक थान, भारतीय स्मार्ट ब्लुबुक दुई थान, स्टेट बैंकको एटिएम कार्ड एक थान, नेपाली रुपैयाँ २४ हजार ४० र भारतीय रुपैयाँ ९ हजार ३ सय १० रुपैयाँ तथा विभिन्न मितिमा वीरगन्ज भन्सार कार्यालयको गाडी प्रवेश गरेको भन्सार प्रज्ञापन पत्र र रसिद पाँच थान पनि कोठाबाट प्रहरीले बरामद गरेको छ।