PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अमेरिकामा ​पारस खड्काको विस्फोटक ब्याटिङ, १९ बलमै बनाए 'हाफ सेन्चुरी'



पहिलोपोस्ट

अमेरिकामा ​पारस खड्काको विस्फोटक ब्याटिङ, १९ बलमै बनाए 'हाफ सेन्चुरी'

अमेरिकामा बिहीबारबाट सुरु भएको 'युएस ओपन क्रिकेट' प्रतियोगिता २०१६ मा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तन पारस खड्काले विस्फोटक ब्याटिङ गरेका छन्।

प्रतियोगिता २२ यार्ड क्रिकेट क्लबका लागि खेलिरहेका पारसले पहिलो खेलमै सिएटल ग्लाडिएटर्स विरुद्ध १९ बलमै हाफ सेन्चुरी पूरा गरेका हुन्।

२२ यार्डको लागि चौथो क्रममा ब्याटिङ गरेका पारसले २६ बल खेल्दै ६४ रन बनाए। उक्त क्रममा पारसले ३ चौका र ७ छक्का प्रहार गरेका थिए।

पारसको सर्बाधिक रन र अन्य खेलाडीको पनि उत्कृष्ट प्रदर्शनका कारण टस जितेर पहिले ब्याटिङ गरेको २२ यार्डले ६ विकेट नोक्सानीमा २९७ रनको उच्च स्कोर खडा गरेको थियो। २२ यार्डका लागि साई रमेशले ४६ तथा शन फिड्लेले नटआउट ४५ रनको योगदान गरे। यस्तै हुमायुन फरहातले ३६ रन जोडे। 

जवाफमा सिएटल ग्लाडिएटर्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेपछि पारसको टीम २२ यार्ड २०७ रनको फराकिलो अन्तरले विजयी भयो।

सिएटल ग्लाडिएटर्सका लागि प्रेमचन्द बेलाकोन्डाले ३७, अन्शुमान चौधरीले २१ तथा निल पटेलले नटआउट १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। ४ खेलाडी खाता नखोली आउट भएका थिए।

पारसले बलिङ नगरे पनि प्रेमचन्द बेलाकोन्डालाई रस्टि थेरोनको बलमा क्याच आउट गराए।

सिएटल ग्लाडिएटर्सलाई कम स्कोरमा रोक्न २२ यार्डका जसदिप सिंहले ३ विकेट लिए भने रस्टि थेरोन र हुमायुन फरहातले समान २ विकेट लिए। शन फिड्लेले १ विकेट हात पारे।

पारस, रस्टि थेरोन र शन फिड्लेले गत हप्ता सम्पन्न टु एक्स क्रिकेट प्रतियोगितामा नेपाली राइनोस टीमबाट संगै खेलेका थिए। नेपाली राष्ट्रिय टीमका अधिकांश खेलाडी सम्मिलित रहेको उक्त प्रतियोगितामा अपराजित रहँदै नोपली राइनोजले उपाधि जितेको थियो।

हिजोबाट सुरु भएको युएस ओपन क्रिकेट आगामी आइतबारसम्म चल्नेछ। प्रतियोगिता अन्तर्गत पारसको टीम २२ यार्डले शनिबार क्यालिफोर्निया बिएरसँग खेल्नेछ। शनिबारै २२ यार्डले तेस्रो खेलमा एटलान्टा पारमभिर्ससँग खेल्नेछ।

क्रिकेट काउन्सिल अमेरिकाले आयोजना गरेको प्रतियोगितामा कुल १७ टीमको सहभागिता रहेको छ भने २२ यार्ड 'ग्रुप टु' मा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell