PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​राप्रपामा कमल थापा ‘सम्माननीय’, पशुपतिशमशेरलाई ‘श्री’ मात्रै



रमेश वाग्ले

​राप्रपामा कमल थापा ‘सम्माननीय’, पशुपतिशमशेरलाई ‘श्री’ मात्रै

काठमाडौँ :  २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै टुक्रिएर बनेको पूर्व पञ्चहरुको पार्टी समय क्रममा टुट्ने फुट्ने इतिहास कायम राख्दै बिहीबार पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भयो। पार्टी एक भए पनि एकीकृत पार्टीभित्र रहेकाहरुबीच अन्तर्द्वन्द्व सार्वजनिक रुपमै पोखिएका छन्। 

बिहीबार राप्रपा र राप्रपा नेपाल एकीकरण पछि बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न एकीकृत राप्रपाले पत्रकार सम्मेलन राखेको थियो। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयलाई केन्द्रीय कार्यालय मान्ने गरी केन्द्रीय समिति बैठक बसेको थियो भने एकीकरणको सन्देश दिनकै लागि राप्रपा नेपालको केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। 

पत्रकार सम्मेलनमा नेपालको इतिहासमै पहिलो नमूना मानिएको पार्टीका दुई अध्यक्ष उपस्थित थिए- अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा। वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डाक्टर प्रकाशचन्द्र लोहनीलाई नाम समेत टाँसेर कुर्सी छुट्याइएको थियो। 

अध्यक्ष कमल थापा र वरिष्ठ  नेता लोकेन्द्रबहादुर चन्दलाई सम्माननीय कमल थापा र सम्माननीय लोकेन्द्रबहादुर चन्द लेखिएको थियो भने पशुपतिशमशेर राणालाई ‘श्री पशुपतिशमशेर’ भनेर लेखिएको थियो। 

किन त्यस्तो भयो त भन्ने प्रश्नमा राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले पूर्वप्रधानमन्त्री भएकाले लोकेन्द्रबहादुर चन्दलाई र अध्यक्षको सम्मानमा सम्माननीय लेखेको हुनसक्ने बताए। तर उही हैसियत भएका कारण राष्ट्रिय अध्यक्ष भनिएका पशुपतिशमशेर राणालाई श्री मात्र लेखिएको थियो। हुनलाई त्यहाँ श्री वा सम्माननीय नभएर नाम र पद मात्र भएको भए पनि पर्याप्त हुन्थ्यो नै। पूर्व प्रधानमन्त्री वा अध्यक्षलाई सम्माननीय नभनिने भएकाले सम्माननीय सुहाएको थिएन। तर पार्टी एकता पछिको पहिलो केन्द्रीय समिति लगत्तै भएको पत्रकार सम्मेलनमा देखिएको त्यो दृष्य एकताका विषयमा नेताहरु र कार्यकर्ताहरु कुन मनोविज्ञानमा गुज्रिएका छन् भन्ने बुझ्न सहज हुने विषय थियो। 

त्यस बाहेक पत्रकार सम्मेलनमा पत्रकारहरुले पनि अध्यक्ष र राष्ट्रिय अध्यक्ष भनेको के हो भनेर जिज्ञासा राखेका थिए। तर नेताहरुले यो पार्टीको एकीकरणमा भएको सहमति हो भन्ने मात्र जवाफ फर्काए। 

राजनीतिक मुद्दाका विषयमा पनि पत्रकार सम्मेलनमा एक प्रकारको द्वन्द्व देखिएको थियो। अब राजतन्त्रको मुद्दा के हुन्छ सँधैका लागि हटेको हो राजतन्त्रको विषय भन्ने हाम्रो प्रश्नमा अध्यक्ष कमल थापा चुप बसेका थिए। उनलाई प्रश्नको जवाफ किन आएन भन्दै दोहोर्‍याएर सोधेपछि मात्र उनले ‘आउँछ-आउँदैन भन्ने कुरा भविष्यमै थाहापाउनु हुनेछ’ भन्ने जवाफ दिएका थिए। 

सँगै रहेका पशुपतिशमशेर राणाले पार्टी एकीकरण महत्वपूर्ण विषय भएको भन्दै त्यहाको पोर्टफोलियो वा अन्य कुरा गौण भएको बताए। तर उनले एउटा कुरा भने महत्त्वका साथ नै राखे त्यो के भने, राजनीतिक रुपमा आफूहरुका धारणा फरक फरक नै हुन्छन् तर मूल कुरा एकता र सामूहिक लक्ष्य हो। राणाले त्यसो भन्दा कमल थापा चुप बसेका थिए। 

त्यही द्वन्द्वको विस्तारित रुप आज राणाको अन्तरवार्ता छापिए पछि देखिएको छ। नागरिक दैनिकमा ‘गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ’ शीर्षकमा छापिएको अन्तर्वार्ता कमल थापा निकटका केन्द्रीय सदस्य मोहन श्रेष्ठले रिट्विट गर्दै ‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणा विपरीत छ, शीर्ष नेताबाट नै कार्यकर्तामा भ्रम नपारौं’ भनेका छन्। 
 

राप्रपा नेपाल छँदा सहप्रवक्ता रहेका र कमल थापा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुँदा सँगै रहेर काम गरेका श्रेष्ठको अभिव्यक्तिले द्वन्द्व कुन स्तरमा छ भन्ने कुरा बाहिर ल्याएको छ। 

राप्रपाको टुटफुट इतिहास

पूर्वपञ्चहरुले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनाको साढे दुई दशकमा पटक-पटक फुटेको छ। २०४६ सालपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा छुट्टाछुट्टै राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भयो।  

राजनीतिक आदर्श भन्दा पनि पूर्वपञ्चको चौतारीका रुपमा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पहिले राजासँग जो नजिक भयो उसले बाँकीलाई समाप्त पार्ने र आफ्नो मात्र गुट जोगाउने प्रवृतिका कारण पटक पटक फुटेको थियो। 

त्यही क्रममा राजा ज्ञानेन्द्रले २०६१ माघपछि कमल थापालाई गृहमन्त्री दिएर शक्तिशाली बनाएपछि देखिएको द्वन्द्वमा सूर्यबहादुर, पशुपतिशमशेर र कमल थापाका छुटाछुट्टै पार्टी बनेका थिए। पशुपतिशमशेरले त्यसबेला राप्रपा सुरक्षित गरे भने सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरेका थिए। दुबैबाट आउट भएका कमल थापाले भने राप्रपा नेपाल गठन गरेका थिए। 

त्यसबेला फुटेका मध्ये सूर्यबहादुर र पशुपति शमशेरको पार्टी तीन वर्ष अघि एकीकरण भइसकेको थियो भने राजतन्त्र मान्ने र गणतन्त्र मान्ने भएका कारण राप्रपा र राप्रपा नेपालको एकीकरण पटक पटक वार्ता भएर पनि सम्भव भएको थिएन। 

अहिले राप्रपा नेपालले राजतन्त्रको नारालाई तत्काललाई छोड्ने र राप्रपाले हिन्दु राज्यसहितको गणतन्त्रलाई मुद्दा बनाएर अघि जाने भन्ने विषयमा नेताहरुबीच कुरा मिलेको भन्दै गरिएको एकीकरणमा नेताहरुले नै कार्यकर्तालाई बुझाउन नसकेका हुन् वा कार्यकर्तामा भ्रम पैदा भएर मात्र द्वन्द्व देखिएको हो भन्ने पुष्टि हुन अब केही दिन कुर्नुपर्नेछ। 

सम्बन्धित समाचार :

'राजावादी दल' नेपालबाट निर्मूल, राप्रपा अब हिन्दुवादी, संशोधनमा हिन्दु धर्म नपरे पनि समर्थन
कमल थापाले एमालेलाई सम्झाए संविधान संशोधनको औचित्य, भन्छन्- 'मधेसवादी पनि अतिवादी'​
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell