काठमाडौँ : संविधान संशोधनको प्रस्ताव तयार गरेर दर्ता गर्ने अन्तिम तयारीमा सरकार रहे पनि आइतबार मात्र विधेयक संसद्मा दर्ता हुने भएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संशोधन विधेयकको विषयमा आन्तरिक छलफल गर्ने र यही अवधिमा मधेसी र एमालेसँग पनि थप छलफल गर्ने सहमति पछि आजै दर्ता हुने भनिएको विधेयक आइतबारका लागि सरेको हो।
'संविधान संशोधनको प्रस्ताव केही दिन पछि मात्र संसदमा लैजाने सहमति भएको छ,' कांग्रेस नेता तथा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री रमेश लेखकले भने, 'विधेयकका पक्षमा रहेकै दलहरुबीच समेत विधेयकका विषयमा आन्तरिक छलफल गरौँ भनेर केही दिन ढिला गर्न लागिएको हो।'
उनले विधेयक आइतबार मात्र संसद्मा दर्ता हुने बताए।
'विधेयकका विषयमा दलहरुबीच पनि आन्तरिक सहमति गरौँ भनेर ढिला भएको छ। यही अवधिमा मधेसी दलहरुसँग पनि छलफल गरिने छ,' मन्त्री लेखकले भने, 'संविधान संशोधन गर्नै हुँदैन भनेर बसेको एमालेसँग पनि थप छलफलको प्रयास हुनेछ।'
उनले संविधान संशोधन आवश्यक हो भन्ने विषय सबैले स्वीकार गरे पनि राजनीतिक स्टन्टमा लागेका कारण केही समस्या देखिएको तर त्यो समाधान हुने बताए।
संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने विषयमा बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेसँग परामर्श गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई बोलाएर प्रस्तावमा लैजाने विषयमा सहमति मागे पनि एमालेले अस्वीकार गरेको थियो। प्रधानमन्त्रीले संशोधनका सहमतिमै अघि बढाउने प्रस्ताव गर्दै संशोधनमा एमालेको सुझाव मागेका थिए।
बिहीबार राति प्रधानमन्त्रीले एमालेसँग गरेको छलफल
'संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ,' एमाले उपाध्यक्ष भीम रावले भने, 'जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ ।'
सरकारले लैजाने विधेयकमा मधेसीको समर्थन आवश्यक भएको भन्दै कांग्रेसले उनीहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताएको थियो। त्यही कारण संविधान संशोधन विधेयक लैजान निर्णयका लागि शुक्रबार बस्न लागेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ।