PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

प्रधानमन्त्रीले स्पष्ट पारे- 'अंगीकृत नागरिक मुख्य पदमा निर्वाचित हुनै पाउँदैनन्'



पहिलोपोस्ट

प्रधानमन्त्रीले स्पष्ट पारे- 'अंगीकृत नागरिक मुख्य पदमा निर्वाचित हुनै पाउँदैनन्'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका पदमा निर्वाचित हुन नपाउने स्पष्ट पारेका छन्।
 
कास्कीको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा बजारमा आएका हल्ला सत्य नभएको बताए। 'सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ। तर, संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको नागरिकमात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ, अंगीकृतले पाउँदैनन्,’ उनले प्रस्ट पारे।
 
नागरिकताको सवालमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको उनले जानकारी गराए। ‘नागरिकतामा अरु संशोधन हुँदैन, विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेपछि आफ्नो देशको नागरिकता त्याग्छ भने नेपाली अंगीकृत नागरिकता पाउन सक्नेबारे छलफल चलिरहेको छ,' उनले भने, 'सीमाङ्कनका सम्बन्धमा विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोजिन्छ। भाषाका बारेमा आयोगलाई अधिकार दिइन्छ र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे पनि भूगोल र जनसंख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिन्छ।’

प्रधानमन्त्रीले सरकारले पुरक बजेटको तयारी गरिरहेको जानकारी दिँदै पुरक बजेटमा गरिबका लागि सरकार, जनता पेन्सन कार्यक्रम र बेरोजगार युवाहरुलाई रोजगारी दिन नसके बेरोजगार भत्ता दिने व्यवस्था गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell