PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

बिरामी श्रीमतीको कुरुवा बस्दाबस्दै पत्रकार कर्ण बोहोराको निधन



पहिलोपोस्ट

बिरामी श्रीमतीको कुरुवा बस्दाबस्दै पत्रकार कर्ण बोहोराको निधन

काठमाडौँ : बिरामी श्रीमतीलाई खाना र औषधि खुवाएर अस्पतालको बेडमा आराम गर्न पल्टिएका थिए पत्रकार कर्ण बोहोरा। 

नियमित पत्रकारिताको कामलाई एकातिर राखेर निकै समय भइसकेको थियो उनको यस्तो दैनिकी चलेको। उनले असाध्यै माया गर्ने पत्नी ममताको दुवै मृगौला फेल भएको अवस्था थियो। उनैको उपचारका लागि बोहोरा दम्पति काठमाडौँ आएका थिए।

सुदूर पश्चिमको पत्रकारितामा स्थापित व्यक्तित्व हुन् कर्ण बोहोरा। शुक्रबार साँँझदेखि उनका परिचितहरु, जसमध्ये अधिकांश पत्रकारहरु छन्, को फेसबुक वालमा उनको नाम र 'अविश्वसनीय' भावका स्टाटयसले भरिएको छ।

वास्तवमा उनका परिचितहरुलाई उनी हैन, उनकी श्रीमती बिरामी भएको खबर मात्रै थियो। पत्नीकै उपचारका क्रममा उनी काठमाडौँको भेनस अस्पतालमा थिए। 

मृगौलाको बन्दोबस्त मिलाउन र भारतमा लगेर प्रत्यारोपण गर्ने प्रक्रिया चल्दै थियो। बिरामी श्रीमतीको कुरुवा उनी नै बस्दै आएका थिए। शुक्रबार पनि श्रीमतीलाई खाना र औषधी खुवाएर त्यहीँको एक्स्ट्रा बेडमा आराम गरेका थिए बोहोरा। तर उनी उठेनन्। अहँ, त्यसपछि उनी उठ्दै उठेनन्। उनी चीर निद्रामा परिसकेका थिए। बिरामी श्रीमतीलाई छाडेर उनले प्राण त्यागिसकेका थिए। 

उनको निधन कसरी भयो भन्ने बारे अस्पतालले विस्तृत जानकारी दिएको छैन। बोहोरालाई उच्च रक्तचापको समस्या भएको भनिएको छ। उनी ३८ वर्षका थिए।

बझाङको स्याडीमा अत्यन्त गरिब परिबारमा जन्मेका थिए बोहरा। गर्भमै रहँदा उनका बुबालाई डाँकाले हत्या गरेको थियो। टुहुरो बनेर हुर्केका बोहोराले डडेल्धुरा जिल्लामा विद्यार्थी राजनीति पनि गरे। २०५४ सालदेखि उनले कञ्चनपुरबाट पत्रकारिता सुरु गरेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell