
बर्लिन (जर्मनी) : जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी विहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ।
हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन्।
हड्तालका कारण कम्पनीले तीन दिनमा तीन करोड १५ लाख अमेरिकी डलरको घाटा भएको जनाएको छ।
विमान चालकको माग सम्बोधन नभएको जनाउँदै चालकहरुले शनिबार पनि हड्ताल जारी रहने जनाएका छन्।
उक्त ध्वजावाहकका चालकले स्न २०१४ पछि विभिन्न समयमा सेवा तथा सुविधा वृद्धिका लागि गरेका विरोधका कार्यक्रमसहित यो १४ औँ सङ्घर्ष हो।
पाइलटहरुले ३.६६ प्रतिशत प्रतिवर्षका दरले आफ्नो तलबमा वृद्धि गर्नुपर्ने माग राखेका छन् भने कम्पनी प्रशासनले २.५ प्रतिशतको वृद्धि गर्न तयार देखिएको छ। विमान कम्पनीमा कार्यरत वरिष्ठ चालकले प्रतिमहिना २२ हजार युरोभन्दा बढी कमाउने गर्छन्। रासस/एएफपी