- हेमन्त केसी
'भोक लाग्यो, जेई (आमा)' भन्दै बच्चाबच्ची कराएको प्रस्टै सुनिन्थ्यो। मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन। बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्किइन्। अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थालिन्।
जयकुमारीका श्रीमान भने निन्द्रा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले।
त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे। श्रीमती रतीकलाबाट दुई वटा छोरा छन्। रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा 'मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई' भन्दै श्रीमानको धम्की सहँदै घरमै बसिरहेकी छिन्। उनका श्रीमानले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन्।
यी त प्रतिनिधि घटना मात्र हुन्। जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ। जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नु पर्ने बाध्यता रहेको छ। हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमानले नगरिदिँदा कानुनी उपचार खोज्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताए।
महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको समेत यहाँका महिलालाई जानकारी छैन। सूचना, प्राविधिको पहुँच नभएका जाजरकोटका गाउँमा सदरमुकाम बाहेक अन्य ठाउँका महिला १६ दिने अभियानबारे बेखबर छन्।
गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताइन्।
सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने महिलाका कार्यक्रममा महिलालाई नपठाएर श्रीमान् नै जाने अनि श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउने चलनले गर्दा आफ्ना अधिकारका विषयमा महिला जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयम्सेवी कृष्णकुमारी शाहीले बताइन्।रासस