
काठमाडौं : गायक रुवी जोशीको ७३ वर्षको उमेरमा निधन भएको छ। २००१ असार २५ गते काठमाडौंको डिल्लीबजारमा जन्मिएका उनको शुक्रबार निधन भएको हो।
२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका उनको 'शीतलुमाथि नि शीतलु' निकै चर्चित गीत हो। यादव खरेल, पुण्यप्रसाद सुवेदी, राममान तृषित, किरण खरेल, युधीर थापा, मवीवी शाह लगायतको शब्दमा गीत गाएका जोशीको स्वरमा नातिकाजी, शिवशंकर, शक्तिवल्लभ लगायतका सर्जकले संगीत भरेका छन्।
'रानी तलाऊ किनारा', 'तिम्रो पनि माया लाग्छ', 'आशा हजार मरेर नै मेरो गीतको जन्म भएको छ' जस्ता गीतले पनि उनलाई निकै चर्चामा ल्याएको थियो। पुष्प नेपालीको संगीत र मवीवी शाहको शब्द रहेको 'एकान्त रातबीचको' गीतबाट उनले सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए। रेडियो नेपालको सञ्चालक समितका सदस्य बनेका जोशीले नेपाल राष्ट्र बैंकमा पनि जागिर खाएका थिए। उनले पाँचभन्दा बढी एल्बम निकालिसकेका छन्।