काठमाडौं : १४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले आज दुई सदस्यीय वार्ता टोली बनाएको छ।
शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती टोलीमा छन्। केसीले उठाएका माग पूरा गर्ने विषयमा तत्काल संवाद थाल्न पनि सरकारले टोलीलाई निर्देशन दिएको छ। टोलीले केसीका प्रतिनिधिहरुसँग आजैदेखि वार्ताको पहल सुरु गरेको छ।
दसौं अनसनको १४ दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी विभिन्न १० बुँदे मागसहित अनसनमा छन्।
केसीको मागप्रति समर्थन जनाउँदै शुक्रबारबाट शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। बहिरंग विभाग (ओपिडी) सेवा बन्द गरेर उनीहरुले हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विरोध र्यालीको आयोजना गरी दबाब दिएका थिए।