PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​महिला एसिया कप : नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित



पहिलोपोस्ट

​महिला एसिया कप : नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित

थाइल्याण्डमा शनिबारबाट सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको ४८ रनको सामान्य लक्ष्य पाकिस्तानले १० ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानको सहज जितमा ओपनर आयेसा जफरले २६ रन बनाइन्। अर्का ओपनर जाभेरिया वाडुड १६ रनमा नटआउट रहिन्।

यसअघि बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपाल १८.१ ओभरमा ४७ रनमा अलआउट भएको थियो। 

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। 

विकेटकिपर ज्योति पाण्डे र इन्दु बर्मा समान ८ रन बनाएर आउट भइन् भने करुण भण्डारी ६ रन बनाएर पभेलियन फर्किइन्। निरा राजोपाध्याय २ तथा सरिना मगर १ रनमा आउट भइन्। 

नेपालका सिता मगर, नेरी थापा र सरस्वती चौधरी खाता नै नखोली आउट भएका थिए। नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका अनम अमिन, साना मिर र सादिअ युसफले समान २ विकेट लिइन्। अस्माभिया इक्वाल र बिस्मान मरुफले १/१ विकेट लिइन्। 
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell