मुस्ताङ : सडकसँगै जोडिएको कलात्मक काठको ठोकाबाट भित्र छिरेपछि फराकिलो आँगन। छेउमै दुईतले रेस्टुरेन्ट। सोझै अगाडि बढ्दा अर्को ढोका र भित्र फराकिलो लबी। लबीकै छेउमा काउन्टर। काउन्टरको भित्तामा फोटो र फ्रेम। फोटोमा मुस्कुराइरहेका अमिताभ बच्चन। सँगै, उनको हस्तलिखित स्टेटमेन्ट राखिएको फ्रेम।
लबीबाट अझै उत्तरतिर जाँदा अमिताभसँगै डेनी डेङजोङ्पा र श्रीदेवीका तस्बिरहरु लहरै। लबीको दक्षिणतिर पनि फिल्मकै फोटा। त्यहाँभन्दा पनि भित्र पस्ने हो भने ठूलो र फराकिलो ग्यालरी, जहाँ लहरै क्यानभासमा कोरिएका तस्बिरहरु। आकर्षक र लोभलाग्दा ल्यान्डस्केप, मुस्काइरहेको मुहार र बुद्धलाई सम्झिरहेका मानेहरु।
शब्ददृश्यले तपाईँ सिनेमा हलभित्र भएको ठान्नुभयो भने गलत हुन्छ। यो होटलभित्रको एउटा दृश्यमात्र हो।
होटल ओम्स होम, मुस्ताङ।
...
सन् १९९१।
अफगानिस्तानको पठारको कथा बोकेर मुस्ताङमा सुटिङ भयो– खुदा गवाह। स्टारर थिए अमिताभ बच्चन र डेनी डेङ्जोङ्पा। हिरोइन श्रीदेवी। भरखरै प्रजातन्त्रमा टेकेकाले हुनुपर्छ, त्यतिखेर अहिलेको जस्तो महेन्द्र राष्ट्रवादको छायाँले वामपन्थीहरुलाई छपक्क छोपेको थिएन। नत्र 'मुस्ताङलाई अफगानिस्तान बनायो' भनेर सामाजिक सञ्जालमा कडा सन्देशहरु छरपस्ट भइसक्थे।
पठारको कथामा बेनजिर (श्रीदेवी) र बादशाह खान (अमिताभ) सँगै खुदा बक्स (डैनी) को भूमिका त्यतिखेर सबैभन्दा चर्चित बन्यो। फिल्म सुपरहिट। मुस्ताङमा अमिताभ, डेनी र श्रीदेवीले जुन ठाउँमा घोडामा सवार भए ती सबैजसो अहिले मोटरेवल भएका छन् तर धुले। यहाँ घोडाको ठाउँ महँगा मोटरसाइकलले लिएका छन्। बजाज कम्पनीले त शो रुम नै चलाएको छ सर्भिसिङ स्टेसनसहित।
बलिउडका तीन चर्चित स्टारहरु बसेका थिए यही होटलमा, जुन अहिले ट्रिपल पी गुरुङले चलाइरहेका छन्। 'कति समयसम्म त यो होटल खाली नै भएन रे!' गुरुङले सुनाए, 'अमिताभ बसेको होटल भन्दै मानिसहरु सधैं भरिभराउ।'
सन् १९९१ मा फिल्म सुटिङ हुँदा मुस्ताङ र पाटनलाई जोडेर अफगानिस्तानको रुप दिइएको थियो। अफगानिस्तान त्यतिखेर चरम गृहयुद्धमा फसेको थियो। रुस विभाजनका कारण अफगानिस्तानबाट बाहिरिएको थियो र त्यहाँको कम्युनिस्ट सरकार विद्रोही मुजाहिद्धिनसँग भिडिरहेको थियो। बलिउड फिल्म टोलीका लागि अफगानिस्तानको पठार नदेखाई नहुने। कारण थियो- फिल्मको कथा। हिन्दुस्तान र अफगानिस्तान, प्रेम र वियोग, प्रतिशोध र पुनर्मिलन। फर्मुलाहरु पर्याप्त थिए। नेपाल सहज थियो र मुस्ताङलाई निर्देशक मुकुल आनन्दले अफगानी पठारमा रुपान्तरण गर्दिए भर्चुअल्ली।
फिल्मले सफलता पायो, मुस्ताङको पर्यटन व्यवसायले नयाँ ग्राहक। खुदा गवाह सुटिङ भएका ठाउँमा भारतीयहरु उभिन थाले र एसएलआर क्यामरामा भरिएका रिलहरु धमाधम एक्सपोज गर्न थाले।
ओम्स होममा अझै त्यसको प्रतिविम्ब बाँकी छ। १९९० को दशकको फिल्मको फ्लेवर लिएका भारतीयहरु यहाँ आइपुगे भने छक्क पर्छन्। होटलमा झुन्ड्याइएका सुटिङ हुँदाका फोटा र फिल्मको विवरण पढ्छन्। बलिउडका बादशाह बसेको होटलमा बसेकोमा गर्व गर्छन्। दुई दशकअघि अमिताभ र श्रीदेवी बसेको होटल यसरी नै चल्यो वर्षौं। ओम्स होम यहाँका महँगा होटलमा पर्छ, सेवाको हिसाबले अब्बल पनि।
...
सन् २०१३।
रामबाबु गुरुङको निर्देशनमा आयो फिल्म- कबड्डी। त्यसअघि यही भूगोललाई लोभलाग्दो गरेर भुषण दाहालले दृश्याङ्कन गरेर फिल्म कागबेनी बनाए। कागबेनी नेपाली सिनेमालाई डिजिटल फेजमा प्रवेश गराउन महत्वपूर्ण साबित भयो तर कबड्डीजति सशक्त रहेन। कबड्डी यति धेरै लोकप्रिय भयो कि त्यसको सिक्वेल (कबड्डी जत्तिकै नभए) पनि चल्यो। सुपर हिट। दयाहाङ राई, निश्चल बस्नेत तथा रिश्मा गुरुङहरु हिट भए। फिल्मले भूगोलमात्र होइन यहाँको संस्कृति र परम्परालाई पनि मनोरञ्जनात्मक शैलीमा पस्किएको छ। लोभलाग्दा दृश्य र ठेट शैली। खुदा गवाहमा घोडा कुदेको ठाउँमा पल्स हुइँकिएका दृश्यहरु देखियो। भूगोल उस्तै साधन फरक।
अमिताभ र श्रीदेवीको खुदा गवाह नहेरेको पुस्ताले कबड्डी हेर्यो। त्यसको सिक्वेल कबड्डी कबड्डी पनि हेर्यो। फिल्म हेर्नेले मुस्ताङ हेर्ने रहर पाल्न थाल्यो। काठमाडौं र मुलुकका अन्य सहरबाट मोटरसाइकल मुस्ताङतिर हानिनेक्रम सुरु भयो।
'कबड्डी फिल्मको पुल कहाँ छ?' यहाँ पुग्ने यो पुस्ताका धेरैले सोध्न थाले। मुस्ताङका व्यवसायी खगेन्द्र तुलाचन भन्छन्, 'अहिलेका युवायुवतीहरु सुटिङ भएको ठाउँठाउँमा पुगेर सेल्फी खिच्नकै लागि आउँछन्।'
खुदा गवाहको 'पपुलर कल्चर'ले थालेको अनौठोखाले प्रचारको अभियान कबड्डी कबड्डीसम्म आइपुग्दा रोकिएको छैन। झन् बढेको छ। 'पछिल्लो समय म्युजिक भिडियो र फिल्मको सुटिङ ह्वात्तै बढेको छ,' ट्रिपल पी भन्छन्, 'यसले आन्तरिक पर्यटक निकै माथि पुर्याएको छ।'
…
मुस्ताङमा चिसो बढ्दै छ। मानिसहरु जानेक्रम पातलिन पनि थालेको छ। अपर मुस्ताङीहरु तलतिर झर्नेक्रम पनि सुरु भइसक्यो। घर कुर्न बस्नेहरु बाहेक अब गाउँ रित्ता हुँदै जानेछन् तर सदरमुकाम जोमसोम बजार भने निख्रिने अवस्थामा रहन्न। हिउँले केही दिन र साता त यहाँ पनि छोप्छ नै। मानिसहरु बाहिरसमेत निस्कन सक्दैनन्।
मुस्ताङ धार्मिक रुपमा महत्वपूर्ण तीर्थस्थल हो सबैभन्दा पहिले। दोस्रो यो असाध्यै लोकप्रिय ट्रेकिङ क्षेत्र। त्यसपछिमात्र विकास भएको हो तेस्रोखाले अर्थात् खुदा गवाह र कबड्डीले बनाएको ठाउँ।
१४ हजारभन्दा कम जनसंख्या छ यो जिल्लामा। आधाजति मानिस त तलतिर (युरोप, अमेरिका र तुच्छोमा कोरिया/जापान) तिरै छन्। आधाउधी बेनीदेखि काठमाडौंसम्म। थकाली ब्रान्ड नपुगेको ठाउँ मुलुकमा कमै होलान्। तर पनि यसपाला यहाँका मानिसहरुले होटलमा बस्न पनि मुस्किलले पाए। यहाँ जसोतसो आइपुगे पनि फर्किनलाई हम्मेहम्मे पर्यो। गाडीमा अटाइनअटाई भए। सामाजिक सञ्जालमा मुस्ताङमा पुगेर फोटो नखिचाउनेहरु 'सोसाइटीमै नपर्ने' टिप्पणी हुन थाल्यो। मोटरसाइकल, जिप र बसले यहाँको धुले सडकमा छारो उडान रोकिएन। होटल सबै भरिए। उपल्लो मुस्ताङसमेत पूरै अटाइनअटाई भयो।
'सिन्डिकेट तोडिँदा अहिलेको अवस्था आएको हो,' तुलाचनले भने, 'नत्र चाहेर पनि मानिस आउन सकेका थिएनन्।' अहिले पोखराबाट छुटेको बस सोझै स्याउ फल्ने मार्फाको बगैंचा हुँदै जोमसोमसम्म पुग्छ। यहाँ पुल आधा बन्यो आधा बन्न बाँकी छ। नत्र, पोखराबाट छुटेको बस सोझै मुक्तिनाथ दर्शन गर्न पुग्छ।
स्याउ हातहातै बिकेको छ। स्याउका ब्रान्डी पनि स्टक रहन्नन्। होटल चलाउन यहाँको उत्पादनले चल्दैन, म्याग्दीतिरबाट ओसार्नुपरेको छ।
'अब यो त सबै जना आउने ठाउँ बन्यो,' यहाँका पत्रकार तिलक विक भन्छन्, 'धर्म गर्न आउनेदेखि सुटिङ गर्न र लभ पार्न समेत मुस्ताङ आउन थालेका छन्। यसैगरी आइरहने हो भने यहाँका होटलले भ्याउँदैनन्, थप्नुपर्छ।'